जहाजभित्र जोरजुलुम गरेकोबारे धमलालाई प्रेस काउन्सिलले सोध्यो २४ घण्टे स्पष्टीकरण
प्रधानमन्त्री शेरबहादुर देउवा चढेको विमानभित्र गलत हर्कत गरेको विषयमा पत्रकार ऋषि धमलालाई नेपाल प्रेस काउन्सिलले स्पष्टीकरण सोधेको छ । कर्मचारीले रोक्दारोक्दै निषेध गरिएको स्थानमा प्रवेश गर्नुको कारण २४ घन्टाभित्र पेस गर्न काउन्सिलले धमलालाई पत्र पठाएको छ ।
भारत भ्रमणबाट शुक्रबार प्रधानमन्त्री देउवा फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानभित्र धमलाले जोरजुलुम गरेका थिए । उनी प्रधानमन्त्रीसँग कुराकानी गर्ने भन्दै जहाजका कर्मचारीलाई पेलेर इकोनोमी क्लासबाट बिजनेस क्लासमा प्रवेश गरेका थिए । यस विषयमा नेपाल प्रेसले आज समाचार प्रकाशित गरेलगत्तै काउन्सिलले एक्सन लिएको हो ।
काउन्सिलको स्वअनुगमनमा पनि जबरजस्तीरूपमा निषेध गरिएको क्षेत्रमा छिरेर भिजुअल रेकर्ड गरी सम्प्रेषण गरेको देखिएको पत्रमा उल्लेख छ ।
यस विषयमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारको कार्ड भिर्दैमा जहाँ पनि प्रवेश गर्न सक्ने छुट नहुने बताएका छन् । धमलाबाट स्पष्टीकरणको जवाफ आएपछि थप निर्णय लिइने उनको भनाइ छ ।

२२ चैत २०७८, मंगलवार १७:४६ बजे प्रकाशित













