कैलालीमा दुई लाखभन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

कैलालीमा साढे दुई लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । विद्यालयहरुमा अभियान सञ्चालन गरेर बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने तयारी गरिएको हो । १३ स्थानीय तह रहेको कैलाली जिल्लामा नौ सयभन्दा बढी केन्द्रबाट खोप लगाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । जिल्लामा केही पालिकाले बुधबारदेखि खोप अभियान सञ्चालन गर्न लागेको कार्यालयले जानकारी दिएको छ । यसैगरी, केही पालिकाले चैत २५ गतेबाट सञ्चालन गर्ने तयारी गरेका छन् । बालबालिकालाई टाइफाइड रोगबाट जोगाउनका लागि यो दिन लागिएको हो ।

१५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । कैलालीमा पालिकाहरुले उपलब्ध गराएको तथ्याङ्क अनुसार टाइफाइडविरुद्धको खोप लगाउन पाइने उमेर समूहका बालबालिकाको सङ्ख्या दुई लाख ४९ हजार रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यो उमेर समूहका सबैलाई खोप लगाउनले लक्ष्य राखिएको छ । टाइफाइडको सङ्क्रमण १५ वर्षमुनिका बालबालिकालाई सबैभन्दा बढी हुने भएकाले सरकारको नीति अनुसार टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । खोप लगाइ सकेपछि कतिपय बालबालिकालाई खोप लगाएको ठाउँमा रातो हुने, दुख्ने, हल्का ज्वरो आउने, बिमिरा आउने जस्ता असर देखिन सक्ने बताइएको छ । यस्ता असर देखिएमा नआत्तिन र गम्भीर असर देखा परेमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

नेपाल सरकारले वैशाख १५ गतेसम्म यो अभियान सञ्चालन गर्नु पर्ने समय सीमा तोके पनि विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर एक हप्तासम्म टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने धामीले बताए ।


२२ चैत २०७८, मंगलवार १८:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु