एमसीसी यथास्थितिमै पारित भए सरकार छाड्छाैँ : माधव नेपाल
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीका कारण देशमा राजनीतिक संकट उत्पन्न हुन सक्ने बताएका छन् । बिहीबार धनगढी पुगेका अध्यक्ष नेपालले युवा संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले एमसीसी नेपालको हित विपरीत मात्रै नभई राजनीतिक संकट नै आउन सक्ने जोखिम देखिएको बताएका छन् । एमसीसीका बिषयमा उत्पन्न भएका समस्याहरु वार्ताबाट नै समाधान हुनुपर्ने उनले बताए । उनले आफ्नो पार्टी पनि एमसीसीका बिरुद्ध रहेको बताए ।
यथास्थितिमै सरकारले एमसीसी पारित गरे आफू सरकारबाट बाहिरिने घोषणा उनले गरे । अध्यक्ष नेपालले सुदूरपश्चिमका युवाहरु एमसीसीका बारेमा के भन्छन् भन्दै युवाहरुलाई प्रश्न समेत गरेका थिए । युवाहरुले पनि एमसीसी चाहिदैन भन्दै एक छिन कार्यक्रममै नारा लगाएका थिए ।
उनले अहिले एमाले सिद्धान्तहिन भइसकेको बताए । ‘ओलीको एउटै ध्यान छ, कसरी १४ जना सांसद र समाजवादी पार्टीलाई समाप्त गर्न सकिन्छ,’ उनले भने, ‘ओली समाजवादीलाई सिध्याउन लागेका छन् ।’ आफ्नै पार्टीलाई सम्महाल्न नसकेर हैरान भएको को त्यो ओलीले अरुलाई के तह लगाउन सक्छ र भन्दै उनले प्रश्न गरेका थिए ।
उनले एमालेले षडयन्त्र मात्रै गरेको आरोप लगाएका छन् । उनले आफ्नो पार्टीलाई न भाले न पोथी भन्नेहरु नै कुन माले हुन भन्ने थाहा नभएको बताएका छन् । उनले यो बाम माले नै न भाले न पोथी भएको जिकिर गरे ।
१२ फागुन २०७८, बिहीवार २०:१८ बजे प्रकाशित














