गगन थापाले भने – एमसीसीको पक्षमा मतदान नगर्ने हो भने सरकारमा बस्नुको अर्थ छैन
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न नसकिने बताएका छन् ।
मंगलबार पत्रकारसँग कुराकानी गर्दै थापाले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुने बताए ।
‘सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौं । तर, सँगै जान्छौँ भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ । कि यसका पक्षमा मतदान गरेर सँगै बसौँ । फरक-फरक ठाउँमा मतदान गर्ने भए सँगै बस्न सकिँदैन,’ थापाले भने ।
हरेक नेता सरकारमा रहेका समयमा एमसीसीका विषयमा विभिन्न किसिमका प्रक्रिया अघि बढेको स्मरण गर्दै थापाले छलफलपछि सबैले एमसीसीको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे ।
तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याइएको जनाउँदै उनले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गरे । एमसीसीका पक्षमा बोल्न कांग्रेसले पार्टी पङ्क्तिलाई प्रशिक्षित गर्ने उनले बताए ।
१० फागुन २०७८, मंगलवार १५:२९ बजे प्रकाशित































