एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण
राधिका शाक्यको पनि रिपोर्ट पोजेटिभ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। उनीसँगै पत्नी राधिका शाक्यमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ।
पूर्वप्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजागाइँका अनुसार कोरोना देखिएपछि दुवैजना अहिले बालकोटस्थित निवासमै आइसोलेसनमा रहेका छन्।
बजागाइँका अनुसार दुवैजनाले सुरुमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ आएको थियो। त्यसपछि पीसीआर विधिबाट गरिएको परीक्षणमा पनि कोरोना संक्रमण पुष्टि भएको हो।
एमाले अध्यक्ष ओली यसअघिका दुईवटा लहरमा जोगिएका थिए। तर तेस्रो लहर उचाइतिर जाँदै गर्दा ओलीलाई पनि संक्रमण देखिएको हो।
पछिल्ला केही दिनयता कुनै सार्वजनिक कार्यक्रममा सहभागी नभइ ओली बालकोटमै आराम गरिरहेका थिए। एमालेले ओलीलाई संक्रमण भएकोबारे वक्तव्यमार्फत जानकारी दिने भएको छ।
ओली र पत्नी राधिकामा पनि संक्रमण देखिएपछि केन्द्रीय कार्यालय थापाथलीमा हुने भनिएको आइतवारको पत्रकार सम्मेलन पनि स्थगित भएको छ।
कोरोनाको तेस्रो लहरमा अधिकांश उच्च तहका नेताहरु संक्रमित भइसकेका छन्। यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई पनि कोरोना संक्रमण देखिएको छ।
९ माघ २०७८, आइतवार ११:२७ बजे प्रकाशित













