दार्चुलाका सरकारी कार्यालयमा चुच्चे नक्सा राख्ने अभियानमा विप्लव नेतृत्वको नेकपा
दार्चुलामा रहेका सरकारी कार्यालयमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चुच्चे नक्सा राख्ने अभियान थालेको छ । जिल्लामा रहेका सरकारी कार्यालयहरूमा चुच्चे नक्सा नराखिएको भेटिएपछि नेकपा दार्चुलाले अभियान थालेको हो ।
नेकपा दार्चुलाका सचिव भरत मल्लले सरकारले नयाँ सार्वजनिक गरेको नक्सा सरकारी कार्यालयमा नराखिएको भेटिएपछि नक्सा राख्ने अभियान थालेको बताए ।
उनले भने, ‘दार्चुलाका सरकारी कार्यालयमा अनुगमन गर्दा चुच्चे नक्सा राखिएको भेटिएन । त्यसले गर्दा आज (आइतबार) जिल्लाको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलयमा नक्सा राखेर अभियान थालिएको हो ।’ अन्य कार्यालयमा पनि नक्सा राख्ने अभियान निरन्तर रहने उनले जनाए ।
सरकारले २०७७ जेठमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ।
पुरानो नक्सामा गुञ्जी, नाबी कुटी लगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश सरकारले चुच्चे नक्सा सार्वजनिक गरेको थियो ।सरकारले सम्पूर्ण कार्यालयमा नयाँ सार्वजनिक भएको नक्सा राख्न निर्देशनसमेत दिएको थियो ।
२६ मंसिर २०७८, आइतवार १७:३५ बजे प्रकाशित































