एमालेले देशभर पार्टी प्रवेशको अभियान चलाउने
नेकपा एमालेका महासचिव शंकर पोखरेलले थप बलियो पार्टी निर्माण गर्नका लागि देशभर पार्टी प्रवेशको अभियान सञ्चालन गरिने बताएका छन्। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रि–चन्द्र क्याम्पसमा आयोजना गरेको संगठन विस्तार एवं सदस्यता वितरण महाअभियान-२०७८ को उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन्।
‘मंसिर २५ देखि केन्द्रीय समितिको बैठक आयोजना गर्दैछौं। एकैचोटी जिल्ला र प्रदेशको अधिवेशन गर्दैछौं,’ उनले भने, ‘घर–घरमा एमालेको अभियान सुरुवात गर्दैछौं। देशव्यापी पार्टी प्रवेशको अभियान चलाउने छौं। देशभक्तहरुको एउटै पार्टी एमाले हुनेछ। मुलुको समृद्धिको आकांक्षा राख्नेहरुको पार्टी नेकपा एमाले नै हुनेछ।’
गठबन्धनका कारणले सरकार, अदालत लगायत सबै क्षेत्रमा व्यथिति देखिएको भन्दै उनले अहिलेको परिस्थितिमा ताजा जनादेशका लागि जनतामा जानु अपरिहार्य भएको बताए।
‘चितवनको महाधिवेशनबाट जुन नेतृत्व निर्माण गरेका छौं। विधान महाधिवेशनबाट जे कार्यभार निर्माण गरेका छौं। संगठन निर्माण र परिचालन गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘अब ती कार्यान्वयन गरेर जाने विषयमा नै नेतृत्वको ध्यान जानेछ र हामी त्यसै दिशामा अघि बढ्छौं।’
२० मंसिर २०७८, सोमवार १७:१२ बजे प्रकाशित































