काँग्रेस सुदूरपश्चिम अधिवेशन : सभापतिमा बलायर भर्सेस मिश्र
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनमा संस्थापन पक्ष र इतर पक्षबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिका लागि संस्थापन पक्षबाट पार्टीका केन्द्रीय सदस्य पूर्वमन्त्री बीरबहादुर बलायर र इतर पक्षबाट कैलाली पूर्वसभापति पूराना नेता नारायणदत्त मिश्र उम्मेदवारी मनोनयन दिने तयारीमा छन् ।
संस्थापन पक्षमा सभापतिका लागि पाँच जना भन्दा बढी आकांक्षी देखिएका भएपनि अन्तिममा पूर्वमन्त्री बलायरको पक्षमा सहमती जुटेको छ । उनी यसअघि सभापतिको चर्चामा थिएनन् ।
इतर पक्षले अन्तिम अवस्थामा आएर मात्रै उम्मेदवार खडा गरेको हो । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नका लागि बलायरलाई अगाडि सारिएपनि दुई पक्षबीच सहमती हुन सकेन । अन्तिममा दुई पक्षबीच चुनावी प्रक्रिया अगाडि बढ्ने भएको छ ।
सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच बिहीबारदेखि नै छलफल भइरहेको थियो। तर भागभण्डामा कुरा नमिलेको भन्दै संस्थापन इतर पक्षले उम्मेदवारको सूची सार्वजनिक गरेपछि देउवा पक्ष पनि चुनावमा होमिएको हो।
संस्थापन पक्षबाट नरनारायण शाह, गोविन्द बोहरा, गोविन्दबहादुर शाह, अर्जुनजंगबहादुर सिंह, हिमबहादुर रावल र पुष्प शाहीले सभापतिमा दाबी गरेका थिए।
निर्वाचन समितिले मनोनयन दर्ताको समय २ देखि ४ बजेसम्मको समय तोकेको भएपनि अहिलेसम्म प्रमुख पदहरुमा मनोनयन सुरु भएको छैन । सदस्यका उम्मेदवारहरुले भने मनोनयन दर्ता गर्न सुरु गरिसकेका छन् ।
१७ मंसिर २०७८, शुक्रवार १६:३७ बजे प्रकाशित































