कैलाली काँग्रेसका अधिकांश क्षेत्रमा मतदान हुँदै, आरजुको क्षेत्रमा हानथाप

नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार भइरहेको संघीय प्रदेश निर्वाचन अन्तर्गत कैलालीका अधिकांश क्षेत्रमा मतदान हुँदैछ । अहिलेसम्म निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश ‘ख’मा बाहेक अन्य ठाउँमा संघीय प्रदेश सभापति चयन हुन सकेको छैन ।

क्षेत्र नम्बर ३ को प्रदेश ‘ख’मा भने कमल चौधरीको नेतृत्वमा सम्पूर्ण कार्यसमितिनै सर्वसम्मत रुपमा निर्वाचित भइसकेको प्रचार–प्रसार समितिका संयोजकसमेत रहेका काँग्रेस कैलालीका सदस्य नृप सुनारले जानकारी दिए । उनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न भने सहमतिको प्रयास भइरहेको बताए ।

उनका अनुसार क्षेत्र १ को प्रदेश ‘क’ मा पर्शुराम चौधरी र रामकृष्ण चौधरीले सभापति पदमा उम्मेदवारी दिएका छन् । यहाँ निर्वाचनको तयारी हुँदैछ । सर्वसम्मत गर्ने तयारी पनि छ । रामकृष्ण चौधरी जोशीपुर गाउँपालिकाको अध्यक्षसमेत हुन् ।

प्रदेश ‘ख’ मा बलिराम चौधरी र गणेश रावलले सभापतिमा उम्मेदवारी दिएका छन् । चौधरीलाई बनाउने ढंगले सर्वसम्मतीको प्रयास भइरहेको भएपनि सहमति हुन नसकेको संयोजक सुनारले बताए ।

क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा गोविन्द बिष्ट र भीम जैशी सभापतिका लागि प्रतिस्पर्धामा छन् । त्यहाँ चुनावी प्रक्रियामार्फत नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भइसकेको छ । प्रदेश ‘ख’ बर्तमान प्रदेश सभापतिसमेत रहेका तेजप्रकाश मल्ल र लक्ष्मण बमबीच प्रतिस्पर्धा भइरहेको छ । यहाँ पनि मतदान भइरहेको छ ।

प्रदेश नम्बर ३ को ‘क’ मा रामप्रुसाद चौधरी र खोजराम चौधरी सभापतिका उम्मेदवार छन् । दुई जनाबीच सर्वसम्मतीमा सभापति छनोट गर्ने प्रयास भइरहेको छ । प्रदेश ‘ख’ मा भने कमलराज चौधरी कार्यसमितिसहित सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

क्षेत्र नम्बर ४ को प्रदेश ‘क’ मा काँशीराम शर्मा र पदम कलेलबीच प्रतिस्पर्धा भइरहेको छ । सभापतिका लागि मतदान प्रक्रिया सुरु भएको छ । प्रदेश ‘ख’ मा प्रकाश मल्ल र गोपालदत्त भट्टबीच प्रतिस्पर्धा भइरहेको छ । यहाँ पनि मतदान प्रक्रिया सुरु भएको छ ।

यस्तै क्षेत्र नम्बर ५ को प्रदेश ‘क’ मा कुम्भराज गिरी र सीताराम राना सभापतिका उम्मेदवार छन् । यहाँ पनि सर्वसम्मतीका लागि प्रयास भइरहेको छ । तर सहमति हुन सकेको छैन । राना धनगढी उपमहागनरपालिका वडा नम्बर ७ का वडाध्यक्षसमेत हुन् ।

यस्तै, प्रदेश ‘ख’ मा रुपेश स्वाँर, केशव जोशी, मानबहादुर चौधरी र धर्र्मराज उपाध्यायले सभापतिका लागि उम्मेदवारी दिएका छन् । उहाँहरुबीच पनि सर्वसम्मतीका लागि प्रयास भइरहेको प्रचार–प्रसार समितिका संयोजक सुनारले जानकारी दिए ।

यहाँ प्रदेश सभापतिका आकांक्षी धेरै देखिएकाले सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम देखिएको छ । प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको चुनावी क्षेत्रसमेत रहेको क्षेत्र नम्बर ५ नेतृत्वका लागि हानथाप भइरहेको छ ।


३ मंसिर २०७८, शुक्रवार १७:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु