भारतबाट अनुमति नपाएपछि छाङरु र तिंकर गएको गणकको टोली दुम्लिङ पुग्यो

दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर १ छाङरु र तिंकरमा जनगणना गर्न टोली खटाइएको छ । छाङरु र तिंकर जानका लागि नेपालको बाटो कठिन र लामो भएपछि भारतलाई अनुमति माग्न खोज्दा उसले अनुमति दिएन ।

पटकपटक आग्रह गर्दा पनि भारतले अनुमति नदिएपछि शुक्रबार नेपालकै बाटो भएर छाङरु र टिंकरका लागि गणकसहित ३ जनाको टोली पदैलको बाटो भएर हिँडेको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले बताए ।

‘नेपालबाट बाटो नै छैन, तिंकर र छाङरु पुग्न नेपाली बाटोबाट हिँडेर तीन दिन लाग्छ,’ उनले भने, ‘भारतको बाटोबाट एक दिनमै पुगिन्छ ।

जिल्ला प्रशासनबाट अनुमती मागेर पटकपटक भारतको बाटो भएर जान खोज्दा जान नदिएको उनले बताए । अन्य प्रयोजनका लागि बाटो प्रयोग गर्न दिने तर, जनगणकका लागि जान खोज्दा रोक लगाउने ग¥यो उनले भने ।

तिंकर र छाङरुमा १ सय १३ घर परिवारको बसोबास रहेको उनले बताए । टोली गएपनि तिंकर÷छाङरुमा पुग्ने÷नपुग्ने ग्यारेन्टी नरहेको उनले बताए ।

‘ब्यासकै वडा नम्बर २ सम्म गणकहरु पुगिसेकेका छन्,’ उनले भने । ‘नेपालबाट ब्यास गाउँपालिका–२ दुम्लिङसम्म मात्र बाटो रहेको र त्यहाँ गणकहरू पुगेका छन्,’ उनले भने, ‘तर, त्यहाँबाट माथि बाटो निकै बिग्रिएको भन्ने कुरा आएको छ । दुम्लिङबाट छाङरु पुग्न १ देखि डेढ दिन लाग्छ । त्यसबीचमा गाउँ पनि छैन ।’

यदि बाटो नपाएर गणकहरु टिंकर र छाङरु पुग्न सकेन भने नजिकका गणहरुबाट फोनमार्फत भएपनि गणनाको काम गर्न प्रयास गरिने उनले बताए । ‘सरकारले टिंकर र छाङरुका लागि हेलिकोप्टरको व्यवस्था हुन्छ भनेको थियो,’ उनले भने, ‘अहिलेसम्म खबरै नभएपछि गणकलाई पैदलनै पठाएका छौं ।’

विभागले कात्तिक २५ देखि मंसिर ९ सम्म जनगणनाका लागि तथ्यांक संकलन सक्ने तालिका बनाएको छ ।


३ मंसिर २०७८, शुक्रवार १७:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु