प्रधानमन्त्री देउवा मन्त्री र पूर्वमन्त्रीसहितको टोली भोलि सुदूरपश्चिम आउने

प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार गृहप्रदेश सुदूरपश्चिममा बाढीपहिरोले पु¥याएको क्षतिको निरीक्षणमा आउने भएका छन्।उनी एक मन्त्री र तीन जना पूर्वमन्त्रीका साथ गृहप्रदेशमा बाढीपहिरोले पु¥याएको क्षतिको निरीक्षणमा आउने भएका हुन्।

नेपाली कांग्रेसका नेता एनपी साउदसँग बुधबार अपराह्न भएको सरसल्लाहका क्रममा उनले बिहीबार बिहान सुदूरपश्चिमको क्षति निरीक्षणका लागि जाने तय गरेका हुन्।यसअघि बुधबार दिउँसो कांग्रेसकै अर्का नेता रमेश लेखकसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम निरीक्षणका लागि जाने इच्छा देखाएका थिए।

प्रधानमन्त्री देउवालाई सुदूरपश्चिममा बाढीपहिरोले पु¥याएको क्षतिबारे ‘ब्रिफिङ’ गरिसकेपछि नेता लेखकले  भनेका थिए, ‘क्याविनेट अगाडि मलाई बोलाउनुभएको थियो। मैले सुदूरपश्चिमको बाढीपहिरोपछिको वस्तुस्थिति, क्षतिबारेमा ब्रिफ गरेँ। प्रधानमन्त्री साह्रै गम्भीर देखिनुहुन्छ। सुदूरपश्चिम निरीक्षणमा जाने सोचिरहनुभएको छ।’

तर, नेता साउदसँग सुदूरपश्चिममा पुगेको क्षतिबारे ‘बिफ्रिङ’ लिइसकेपछि प्रधानमन्त्री देउवाले बिहीबार नै निरीक्षणमा जाने बताएका हुन्। नेता साउदकाअनुसार प्रधानमन्त्री देउवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई लिएर सुदूरपश्चिम जाँदै छन्।

प्रधानमन्त्रीको उक्त टोलीमा कांग्रेस केन्द्रीय सदस्यहरु साउद, लेखक र वीरबहादुर बलायर पनि रहने छन्। टोली काठमाडौंबाट सोझै कुन जिल्ला जाने भन्ने बारेमा भने तय भइनसकेको नेता साउदले जानकारी दिए।

उनले छलफलका क्रममा आफूले प्रधानमन्त्रीलाई नदी किनारका बस्तीहरु जोखिममा रहेका, पहाडी जिल्लाहरुमा पहिरोको उच्च जोखिम रहेको, सडक सञ्जाल भताभुंग भएको, विद्युत–टेलिफोन सेवा अवरुद्ध भएकोबारे ‘ब्रिफिङ’ गरेको बताए।

‘सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरका किसनाहरुले धानको एकतिहाइ खेतबाट घर ल्याउन सकेका छैनन। कतै धान बगाएको छ भने कतै डुबाएको छ। यसका बारेमा मैले प्रधानमन्त्रीलाई अवगत गराएको छु,’ नेता साउदले भने।


३ कात्तिक २०७८, बुधवार १७:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु