सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
बझाङमा हेलिकप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ। बझाङको थलारा गाउँपालिका–९ की २१ वर्षीया सम्झना भण्डारीलाई हेलिकप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल बझाङ ल्याइएको छ।
भण्डारीलाई सुत्केरी व्यथाले च्यापेपछि उनी मंगलबार बिहान मालुमेला स्वास्थ्यचौकी पुगेकी थिइन्। पहिलोपटक सुत्केरी भएकाले समय लागिहाल्छ भनेर स्वास्थ्यचौकीमै सुत्केरी गराउने प्रयास भए पनि अवस्था जटिल हुन थालेपछि बाहिर पठाउनुपर्ने अवस्था आएको मालुमेला स्वास्थ्यचौकीका इन्चार्ज विकास खड्काले बताए।
प्रतिनिधिसभा सदस्य आशाकुमारी वि।क।को पहलमा आज बिहान थलाराको पहिरोमा परेकाहरूको खोजीका लागि आएको नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल ल्याइएको हो।
३ कात्तिक २०७८, बुधवार १५:४४ बजे प्रकाशित












