किसानलाई मौसम विभागको आग्रह – वर्षा हुनसक्छ, कृषि कार्य गर्दा सजक रहनू
जल तथा मौसम विज्ञान विभागले शुक्रवार विशेष मौसम बुलेटिन प्रकाशित गर्दै कृषि कार्य गर्दा सजक रहन देशभरका किसानलाई आग्रह गरेको छ ।आइतवारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
बुलेटिनमा लेखिएको छ, ‘हाल भारतको आन्द्र प्रदेश तथा ओडीसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले भोलि शनिवारबाट नेपालमा आंशिकदेखि सामान्य बदली हुने तथा आइतवारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
साथै उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हिमपातको पनि सम्भावना रहेको छ । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिई सजग रहन हुन अनुरोध छ । विशेषतः यात्रा तथा कृषि कार्य गर्दा सजक रहनुहोला ।
मौसम पूर्वानुमान महाशाखाले यी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ । विस्तृत जानकारीका लागि ३ दिने मौसम पूर्वानुमान बुलेटिन पनि दैनिक रूपमा हेर्नहुन अनुरोध छ ।’

३० असोज २०७८, शनिवार ०७:५५ बजे प्रकाशित












