punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलाको पीडा : न तुइन रह्यो न पुल बन्यो, दसैँको मुखमा खाद्यान्न अभाव

Chaupati
safha napa

दार्चुलाको व्यास गाउँपालिकाका वडा नम्बर २ मालघाटस्थित तुइन तर्ने क्रममा जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएयता नदीमा तुइन बन्द गरिएको छ । भारतीय सुरक्षा बल (एसएसबी)को आँखा छलेर लुकिछिपी लगाइने तुइन पनि सो घटनापछि पूर्ण रुपमा बन्द भएका छन् । एसएसबीले तुइन काटिदिँदा जयसिंह नदीमा खसेर बेपत्ता भएको आरोप लागेपछि भारतीय एसएसबीले अहिले झन कडाई गरेको छ ।

त्यसअघिसम्म स्थानीयबासी तुइनको माध्यमबाट भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलंगा जान्थे । अहिले तुइन पूर्ण रुपमा बन्द भएपछि सदरमुकामसंग स्थानीयको सम्पर्क टुटे जस्तै भएको छ । सदरमुकाम जान परेपछि अहिले ९ घण्टा पैदल र आधा घण्टा गाडीको बाटो भएर १० घण्टामा सदरमुकाम पुग्नुपर्ने अवस्था छ ।

निर्माणको क्रममा रहेको खलंगा तिंकर सडक पनि पूर्र्ण नभएकै अवस्थामा पहिरोले अवरुद्ध छ । स्थलमार्ग हुँदै यातायातका साधन पुग्ने सम्भावना नभएपछि व्यास गाउँपालिकाका वडा नम्बर २, ३ र ४ मा खाद्यान्न अभाव भएको छ । त्यसमध्ये पनि वडा नम्बर २ का बासिन्दा खाद्यान्न अभावसंग बढी जुझिरहेका छन् ।

उक्त वडामा केही दिन पहिले हेलिकप्टरमार्फत ४० क्वीन्टल चामल ढुवानी गरिए पनि त्यो प्रयाप्त भएन । परिवारको सदस्य संख्या हेरेर एकदेखि डेढ कट्टाका हिसावले स्थानीयलाई चामल वितरण गरियो थियो । ‘मैले पनि डेढ कट्टा चामल पाएको हुँ,’ स्थानीय कल्याणसिंह धामीले भने, ‘अब सकिनै लागिसक्यो । बालबच्चा कसरी पाल्ने भइरहेको छ । आयस्रोत केही छैन ।’

यसअघि तुइन चलाएर परिवार चलाइरहेका धामी अहिले बेरोजगार बनेका छन् । ‘नेपाल सरकारले हाम्रो लागि केही गर्दैन हजुर,’ उनी दुखेसो पोख्दै भन्छन्, ‘भारत नभई हाम्रो केही चल्दैन । कम्तीमा अहिलेको लागि मात्रै भएपनि तुइन चलाउने बाटो भएपनि हुन्थ्यो ।’

तीन वर्षदेखि बन्ने भनेको पुल अहिलेसम्म नबनेको भन्दै उनले भने, ‘अब पुल छिटो बनाइदिन भनिदिन पर्यो हजुर । यहाँ बाच्न गाह्रो भइसक्यो । पुल बन्दासम्म तुइन चलाउने वातावारण भएको भए हुन्थ्यो ।’

वडा नम्बर २ का अध्यक्ष वीरेन्द्रसिंह बुढाथोकीले धेरै आग्रह गरेपछि सदरमुकामबाट बल्ल ४० क्वीन्टल चामल मात्रै आएको बताए । उनले त्यतिले मात्रै स्थानीय बासिन्दालाई प्रयाप्त नभएको बताए । ‘दुई÷तीन महिना अघिदेखि आउँछ–आउँछ भन्दा भन्दै बल्ल ४० क्वीन्टल चामल आयो,’ उनले भने, ‘फेरि पठाउँछौं भनेका छन्, कहिलेसम्म आउँछ हेरौं ।’

उनले गाउँमा खाद्यान्न अभाव भइसकेको बताए । दशैंको मुखमा पनि चामल पुर्याइएन भने गाउँमा झन खाद्यान्न अभाव उनको भनाई छ । ‘यसअघि कम्तीमा स्थानीयले तुइनमा झुण्डिएर भएपनि भारतबाट आफूलाई चाहिने सामान ल्याएर चलाएका थिए,’ उनले भने, ‘अहिले न तुइन रह्यो, न पुल बन्यो । सरकारले पनि हाम्रो पीडा बुझ्न सकेन ।’

खलंगा–तिंकर सडक पनि अवरुद्ध हुँदा सदरमुकाम आउन मात्रै एक दिनभरी लाग्ने गरेको उनले बताए । विहीबार मात्रै नेपाली काँग्रेस दार्चुलाले महाकाली नदीमा तुइन विस्थापन अन्तर्गत निर्माण हुनुपर्ने झोलुङ्गे पूल निर्माण कार्य अघि बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ ।

व्याँस गाउँपालिकाको वडा नम्बर २ जोड्ने मालघाट र वडा नम्बर ४ जोड्ने मलघट्टेमा तुइन विस्थापन अन्तर्गत झोलुङ्गे पूल निर्माणको काम अघि बढाउन माग गरिएको छ ।

२०७८ साउन २८ गते सस्पेन्सन बृज डिभिजनले पुल निर्माणको जिम्मा पाएको खम्पाछे÷रुविना जेभीका प्रतिनिधिलाई बोलाएर २०७८ पौष मसान्तसम्म पुल निर्माणको काम सम्पन्न गरिसक्न निर्देशन दिएको थियो । महाकाली नदी वारपार गर्न व्याँस गाउँपालिका २, ३ र ४ का नागरिकको लागि अहिले तुइन छैन ।

भारतीय एसएसबीले तुइन काटिदिदा अहिले यो क्षेत्रमा नाकाबन्दीजस्तै भएको छ । नेपालतिर निर्माणाधीन दार्चुला तिंकर सडक खण्ड ठाउँ–ठाउँमा अवरुद्व छ । सडक बाटो घाटो नभएपछि अहिले यहाँका नागरिक खलंगासम्म पुग्न सकेका छैनन् ।

यो क्षेत्रमा तत्कालीन केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा तुइन विस्थापन गर्ने योजना अघि बढेको थियो । जसअनुसार महाकाली नदीका चार ठाउँमा एकसाथ तुइन विस्थापन गर्दै पुल निर्माण कार्य अघि बढेको थियो ।

२०७६ मा ब्याँसको बडुगाउ, मलघट्टे, माल र बाकुमा तुइन विस्थापन गर्न भन्दै झोलुङ्ग पूल निर्माण गर्न बोलपत्र आह्वान भएको थियो । जसअनुसार बडुगाउ र बाकुमा पूल निर्माण कार्य अन्तिम चरणमा पुग्दा पनि मालघाट र मलघट्टेमा पूल निर्माण कार्य अघि बढ्न सकेको छैन् ।

समयमै पुल निर्माण नहँुदा ब्यास गाउँपालिका वडा नम्बर २, ३ र ४ का स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ ।


१६ असोज २०७८, शनिवार ११:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु