पत्रकारलाई सूचना दिएको भन्दै मेयरले कर्मचारी कुटे
धनुषामा पत्रकारलाई सूचना दिएको भन्दै जिल्लाको विदेह नगरपालिकाका प्रमुख वेचन दासले नगरपालिकाका एक जना कर्मचारीलाई हातपात गरेका छन्।
नगरप्रमुख दासले नगरपालिकामा हुँदै आएको अनियमितताको विषयमा जानकारी गराएको भन्दै नगरपालिकाका कर्मचारी चन्देश्वर ठाकुरमाथि उनकै कार्यकक्षमा हातपात गरेका हुन्। नगरप्रमुख दाससँगै उनका कार्यकर्ता विदेह नगरपालिका–५ का शत्रुधन राय र अंगद रायले समेत उनीमाथि हातपात गरेका हुन्।
शत्रुधन वडाध्यक्षमा अध्यक्ष पदका लागि समेत लडेका थिए। नगरप्रमुखबाट कुटाइ खाएका कर्मचारी ठाकुरले आफ्नो कार्यकक्षमा काम गरिरहेका बेला नगरप्रमुख दास र उनका दुई जना कार्यकर्ताले हातपात तथा कुटपिट गरेको बताए।
कार्यालयमा काम गरिरहेको बेला मेयरले हातपात गरेपछि सँगै आएका कार्यकर्ताले पनि कुटपिट गरेको उनेले बताए ।
केही दिनअगाडि बाख्रा वितरणमा व्यापक अनियमितता भएको समाचार बाहिरिएको थियो।सोही विषयलाई लएर प्रमुख दासले हातपात गरेका हुन्।
हातपात भएका कर्मचारी ठाकुर कृषि अधिकृतका रूपमा ४ वर्षदेखि विदेह नगरपालिकामा कार्यरत छन्।
चन्देश्वर नगरपालिकाबाटै बोर्डिङ, दमकल वितरण, प्रधानमन्त्री कृषि आधुनिकीकरणलगायत कार्यक्रम सञ्चालन गर्दै आएका थिए।
उक्त कार्यक्रम सञ्चालन गरेबापत मेयर दासले १२ लाख रुपैयाँ कमिसन मागेको ठाकुरको आरोप छ।
मेयर दासले कमिसन मागेको तर आफूले अनियमितता नगर्ने भनेपछि कार्यकर्ता बोलाएर पिट्न लगाएको उनले बताए।
उनले आफूमाथि भएको हातपात तथा कुटपिटबारे प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी दिए पनि उनले कुनै रेस्पोन्स नलिएको बताए।
यता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीवकुमार साहले नगरपालिकामा कुनै कर्मचारीमाथि हातपात नभएको दाबी गरे। उनले नगर प्रमुखलाई बदनाम गर्नकै लागि अफवाह फैलाइएको बताए।
९ असोज २०७८, शनिवार ०५:३२ बजे प्रकाशित












