संखुवासभा सामूहिक हत्या प्रकरणमा नयाँ ट्वीस्ट : मुख्य योजनाकार अर्कै
संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्याका मुख्य योजनाकार यसअघिपक्राउ परेका लोकबहादुर कार्कीका काका भएको पाइएको छ ।
प्रहरीले लोकबहादुरका काकासहित थप चारजनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । भदौ २६ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट अरुको पनि संलग्नता खुलेपछि प्रहरीले थप ४ जनालाई पक्रेर सोमबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की छन् ।
लोकबहादुर सहित ५ जना मिलेर योजनाबद्ध रुपमा हत्या गरेको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले बताए ।
लोकबहादुरका काका खड्गबहादुर हत्याको मुख्य योजनाकार रहेको दावी प्रहरीले गरेको छ । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
हत्याको अघिल्लो साँझ ८ बजे लोकबहादुरको घरमा बसेर खड्गबहादुरसहित चार जना मिलेर योजना बनाएका थिए । ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीलाई लोकबहादुर र उनका काकाका छोरा हस्तबहादुरले मुख थुनेर चिर्पटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
४ असोज २०७८, सोमवार १२:१७ बजे प्रकाशित































