निर्माण नसकिँदै खानेपानी संरचना सेतीले डुबायो

बझाङ सदरमुकाम चैनपुर र आसपासका गाउँलाई खानेपानी उपलब्ध गराउन भन्दै निर्माण थालिएको महत्त्वाकांक्षी खानेपानी योजनाको मुख्य संरचना सेतीले डुबाएको छ । करिब २३ करोड लागतमा निर्माणाधीन चैनपुर साना सहरी खानेपानी आयोजनाको मुहान ट्यांकी नै सेतीको डुबानमा परेपछि योजनाको दिगोपनामा शंका उत्पन्न भएको छ ।

सेती नदी छेउको भूमिगत पानीलाई तानेर चैनपुर, भोपुर र देवललगायतका ठाउँका १ हजार १ सय ६५ परिवारलाई खानेपानी सेवा दिने उद्देश्यले निर्माण थालिएको योजना सम्पन्न नहुँदै जोखिममा परेको हो ।

चैनपुरका लागी ४ लाख ५० हजार लिटर, भोपुर बस्तीका लागी ५० हजार लिटर, देवल रिठापाठाका लागी १ लाख लिटर गरी ६ लाख क्षमताका ट्यांकीबाट करिब ११ सय ६५ घरधुरीलाई पानी उपलब्ध गराउने योजनाको लक्ष्य छ ।

सेती नदीले धार परिर्वतन गरेपछि भोपुरस्थित सेनाको ब्यारेकनजिक निर्माण भएको मुहान ट्यांकी (इन्टेक)सेती नदीको दुई भँगालोको बीचमा परेको छ । बाढीले इन्टेकबाट पानीलाई शुद्धीकरण गर्ने ट्यांकी (ट्रिटमेन्ट ट्यांक) सम्म पुर्‍याउने १ सय २५ मिटर फलामे पाइप बगाएको योजनाका परामर्शदाता इन्टेक नेपालका मकरबहादुर स्वाँरले बताए ।

सेतीले परिवर्तन गरेको धारको कटानका कारण इन्टेकभन्दा केही माथि निर्मित खानेपानीको पम्प हाउस पनि जोखिममा परेको छ । साउन र भदौमा आएको बाढीपछि सेतीले धार परिर्वतन गर्दा मेनहोल कभरलगायत अन्य निर्माणस्थलमा रहेका सामान हराएकोले पुरिएको वा बगाएको हुन सक्ने ठेकेदार कम्पनीले जनाएको छ ।

‘पानीको बहाव नघटेकाले के कस्तो क्षति भएको छ यकिन भएको छैन,’ निर्माण कम्पनी आशिष, चन्द्रावसन्त जेभीका इन्जिनियर विशाल ज्ञवालीले भने, ‘अब केही दिनमै हामी पुरिएको ठाउँमा खनेर हेर्दै छौं । त्यसपछि सबै विवरण आउला ।’

उनले यसअघि नदीबाट हुने जोखिम नियन्त्रणको लागि योजनाको डीपीआरमा कुनै पनि प्रावधान नराखिएको र अहिले बाढीले क्षति भइसकेपछि ग्याविन जाली लगाएर तटबन्धन गर्ने तयारी गरिएको बताए । ‘प्रोजेक्ट रिभ्युका लागि पठाएका छौं । सपोर्ट स्ट्रक्चर ९सहायता संरचना० निर्माणका लागि डीपीआर परिर्वतन गर्ने काम भइरहेको छ,’ उनले भने ।

आयोजनाको प्रारम्भिक सर्वेक्षण गर्ने क्रममा नै जोखिमको बिश्लेषण गरिनुपर्ने र सोहीअनुसारको सुरक्षाका उपायको व्यवस्था गरिसकेपछि मात्रै निर्माणको काम थाल्नुपर्नेमा हचुवामा काम भएको र नदी कटान र ढुवानको जोखिम कायमै रहेकोले आयोजना दिगो हुनेमा शंका रहेको यस क्षेत्रका जानकारहरूले बताएका छन् । ‘सेतीले यो वर्ष मात्रै धार परिवर्तन गरेको होइन ।

त्यहाँनेर धेरैपटक धार परिर्वतन हुने गरेको छ । डीपीआर गर्दाखेरी नै कम्तीमा सातरआठ वर्ष पहिलासम्मको डाटा लिएर सेतीले धार परिर्वतन गर्ने ट्रेन्डको विश्लेषण गरिनुपर्थ्यो । त्यसो नगरेरै काम थालियो’ इन्जिनियर दीपक बोहराले भने, ‘भविष्यमा पनि सेतीले जुनसुकै बेला योजनालाई बगाउन सक्ने जोखिम भएकोले यो योजना दिगो होला भन्नेमा शंका छ,’ उनले जोखिम विश्लेषण गरेर मूल संरचना निर्माण गर्नुपूर्व नदीबाट बचाउनका लागि सहायक संरचना बनाउनुपर्नेमा त्यसो नगरिएकाले समस्या उत्पन्न भएको बताए ।

चौथोपटक म्याद थपिँदै, लागत बढ्यो

साना सहरी खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ७० प्रतिशत अनुदान, नगर विकास कोषको २५ प्रतिशत ऋण र ५ प्रतिशत उपभोक्ताको लगानीमा निर्माण हुन लागेको यो योजनाको समयमै काम सम्पन्न नहुँदा उपभोक्ता शुद्ध खानेपानी उपभोगबाट वञ्चित भएका छन् । २०७६ वैशाखबाट निर्माण सुरु भएर १८ महिनाभित्र सम्पन्न गर्ने गरी काम थालिएको यो योजना तेस्रोपटक थपिएको म्यादभित्र पनि सम्पन्न हुन सकेको छैन ।

कोरोना माहामारी, सेतीमा आएको बाढीले निर्माण कार्यमा अवरोध गरे पनि योजना समयमा नै सम्पन्न नहुनुमा ठेकेदार कम्पनीको ढिलासुस्ती पनि जिम्मेवार रहेको परामर्शदाता मकरबहादुर स्वाँरले बताए ।

‘कोरोना र बाढीको कारण पनि योजना अवधि केही लम्बिएको हो,’ स्वाँरले भने, ‘अरू कारण जे भए पनि ठेकेदार कम्पनीको ढिलासुस्ती पनि यसमा जिम्मेवार छ । काम छिटो सुरु गर्नुपर्‍यो भनेर हामीले पटक–पटक दबाब दिइरहेका छौं । अब केही दिनमै सुरु गर्ने भनेको छ, हेरौं ।’

समयमै योजना सम्पन्न नहुँदा सदरमुकाम चैनपुरका बासिन्दालाई खानेपानीको हाहाकार छ । पानीको अभावका कारण सदरमुकामका बासिन्दाहरू सेती नदी र बाहुलीगाडको दूषित पानी पिउन बाध्य छन् ।

‘बिहान सबेरैदेखि कसको धारामा पानी आयो भनेर छिमेकीका घर–घरमा पानीको खोजीमा धाउनुपर्छ,’ जयपृथ्वी नगरपालिका–१० चैनपुरको शान्तिमार्गकी कमला शाहीले भनिन्, ‘पानी आएका दिन एक गाग्री मुस्किलले भर्न पाइन्छ । नत्र सेती नदीको पानी खानुपर्छ ।’ पानी नियमित नआए पनि उपभोक्ता समितिले भने शुल्क लिन नछोडेको अर्का स्थानीय झलक ओखेडाले बताए ।

योजनामा उपभोक्ताको योगदान भनेर चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले प्रतिपरिवार १६ हजार रकम उठाएको थियो । एक वर्षभित्रै घर–घरमा धारा आउने भनेर रकम उठाएको तीन वर्ष बित्न लाग्दा पनि पानी नपाएकोमा उपभोक्ता आक्रोशित छन् ।

‘पानी आउँछ भनेर ऋण काढेर पैसा दियौं,’ जयपृथ्वी नगरपालिका–११, भोपुरका स्थानीय महादेव जोशीले भने, ‘अहिलेसम्म पानी आउने छाँटकाँट छैन । हामी ऋणको ब्याज तिरिरहेका छौं ।’

त्यस्तै, जयपृथ्वी नगरपालिका–९ देवलकी उपभोक्ता टिटा मगर धामीले समयमै पानी दिन नसके आफूहरूले तिरेको रकम ब्याजसहित फिर्ता हुनुपर्ने बताइन् । ‘पैसा तिरेको चार वर्ष हुन थालिसक्यो । सफा पानी पाइएला भनेर रकम तिरे पनि हाम्रा पानीका दुःख उस्तै छन् । कि त छिटो पानी दिनुपर्‍यो हैन भने हाम्रो पैसा ब्याजसहित फिर्ता हुनुपर्‍यो,’ उनले भनिन् ।

हालसम्म ७५ प्रतिशत मात्रै काम सम्पन्न भएकाले योजना निर्माण पूरा हुन अझै समय लाग्न सक्ने बताइएको छ । चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष लोकेन्द्र विष्टले योजना निर्माण प्रक्रिया ढिलोभएको र पटक–पटक म्याद थप गर्नुपरेको बताए ।कान्तिपुरबाट


२७ भदौ २०७८, आइतवार १७:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु