छाङरुमा सेना र सशस्त्र प्रहरीको गुल्म स्थापनाका लागि सरकारले आवश्यक सामग्री उपलब्ध गराउने
सरकारले नेपाल र भारतको सीमा क्षेत्र छाङरुमा नेपाली सेना र सशस्त्र प्रहरीको गुल्म स्थापनाका लागि आवश्यक सामग्री उपलब्ध गराउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला जिल्लाको छाङरुमा नेपाली सेना र सशस्त्र प्रहरीको गुल्मको ब्यारेक निर्माणका लागि ८५ सय क्युफिटको सल्लो उपयोग गर्न स्वीकृत दिने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि ५० विलियन अमेरिकी डलर अर्थात पाँच अर्ब ९४ करोड रकम स्वीकृत गर्ने र स्वास्थ्य क्षेत्र व्यस्थापन सुधारका लागि पाँच अर्ब ९४ करोड सहायता ऋण स्वीकार गर्ने निर्णय गरेको उनले बताए।
आउँदो नोभेम्बरमा हुने जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मलेनमा नेपालबाट सहभागी हुन स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको कार्कीले बताए।
त्यस्तै, स्वर्गीय बीपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने, अर्को आर्थिक वर्षका लागि स्थायी र अस्थायी दरबन्दी सिर्जना गर्ने र निजामती दिवसको दिनमा ४० जना निजामती कर्मचारीलाई पुरस्कार दिने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले बताए।
२१ भदौ २०७८, सोमवार १८:२३ बजे प्रकाशित






























