१४ महिनादेखि तलब नपाएपछि सपरिवार आमरण अनशनमा
बैतडीको शिवनाथका शिक्षक करण राना १४ महिनासम्मको तलब नपाएपछि परिवारसहित आमरण अनशनमा बसेका छन् । आइतबारदेखि जिल्ला समन्वय समिति बैतडीको कार्यालय अगाडि अनशन बसेको हुन् ।
शिवनाथ गाउँपालिका ६ स्थित हिरापुर माविमा राहत कोटामा कार्यरत शिक्षक राना ६ वर्ष अघि गाउँबाट विस्थापित भएपछि दशरथचन्द नगरपालिका ४ स्थित ईश्वर आधारभूत विद्यालयमा काजमा काम गरिरहेका छन् ।
तर, उनले गत १४ महिनासम्मको तलब पाएका छैनन् । रानाले जिल्ला शिक्षा समितिबाट ईश्वर आधारभूत विद्यालयमै पदस्थापन पाउने आश्वासन पाएपछि पहिला काम गरेको बिद्यालयबाट पदस्थापनको स्वीकृति लिनुका साथै सबै प्रक्रिया पुरा गरे । तर, दुई वर्षअघि नै प्रक्रिया पूरा गरे पनि शिक्षा समितिले पदस्थापन गरिदिएको छैन ।
करण रानाको पदस्थापनका लागि जिल्ला शिक्षा समितिले पटक–पटक आश्वासन दिए पनि माग पूरा नगरेकाले राना श्रीमती र चार छोराछोरीसहित आइतबारदेखि अनशनमा बसेका हुन् ।
उनको माग सम्बोधनका लागि पहल गरिरहेको शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले बताए । आफ्नो गाउँ शिवनाथ ६ कानलीमै गएर बस्न सक्ने र पुरानै बिद्यालयमा अध्यापन गराउन सक्ने अवस्था नरहेको पीडित राना बताउँछन् ।
२१ भदौ २०७८, सोमवार १७:५६ बजे प्रकाशित































