दार्चुला घटनामा संलग्नलाई कारबाही गर्न माग
देशभक्त जनगणतान्त्रिक मोर्चाले दार्चुला घटनामा संलग्न भारतीय एसएसबीलाई कडा कारबाही गर्न माग गरेको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले बुधबार जारी गरेको विज्ञप्तिमा छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरिएको हो ।
‘सरकारद्वारा गठित कार्यदलले नियतपूर्वक भारतका एसएसबी जवानले लठ्ठा खोलेका कारण उनी महाकाली नदीमा डुबी बेपत्ता भएको प्रमाणसहित सरकारलाई प्रतिवेदन बुझाइसकेको जानकारी प्राप्त भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अतः उक्त प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न र अपराधमा संलग्नहरुलाई कडाभन्दा कडा कारवाही गराउन भारत सरकारसँग अविलम्ब सार्थक कूटनीतिक पहल गर्न हामी जोडदार माग गर्दछौं ।’
गत साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका, वडा नं.२ निवासी ३३ वर्षीय जयसिंह धामी गाउँबाट सदरमुकाम खलङ्गा जाने क्रममा मालघाट भन्ने ठाउँमा महाकाली नदी तर्ने क्रममा खसेर बेपत्ता भएका थिए ।
भारतीय सीमा सुरक्षा बलको भूमिकाका कारण तुइन खुस्किएर उनी महाकालीमा बेपत्ता भएको सरकारले गठन गरेको छानबिन समितिले समेत ठहर गरिसकेको छ ।
१६ भदौ २०७८, बुधवार १७:०९ बजे प्रकाशित































