सुदूरपश्चिम प्रदेशकै कम बेरुजु भएको नगरपालिका बन्यो शुक्लाफाँटा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका सुदूरपश्चिम प्रदेशकै कम बेरुजु भएको नगरपालिका भएको छ। महालेखापरीक्षकको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार प्रदेशका ८८ स्थानीय तहमध्ये शुक्लाफाँटामा सबैभन्दा कम बेरुजु रहेको छ । नगरपालिकाको आव २०७६र७७ मा बेरुजु रकम रु ८० लाख ५६ हजार मध्ये रु ५६ लाख ९९ हजार बेरुजु रकम फछ्योट गरिएको छ ।

नगरपालिकामा शून्य दशमलव ५९ प्रतिशतले रकम बेरुजु कायम छ । यो प्रदेशका स्थानीय तहमा फछ्योट हुन बाँकी रकममध्ये कम हो । महालेखापरीक्षकको कार्यालयको अन्तिम लेखा परीक्षणमा चार प्रतिशतभन्दा कम बेरुजु हुने स्थानीय तहलाई आर्थिक अनुशासन र वित्तीय सुशसन राम्रो भएको मानिन्छ ।

कम बेरुजु भएका स्थानीय तहमध्ये शुक्लाफाँटा ३४औँ स्थानमा छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिसन सिंह थापाका अनुसार आव २०७४र७५ मा नगरपालिकामा बेरुजु रकम छ करोड ५४ लाख २४ हजार, आव २०७५र७६ मा दुई करोड ९२ लाख ३५ हजार र आव २०७६र७७ मा ८० लाख ५६ हजार गरी कूल बेरुजु रकम १० करोड २६ लाख १५ हजार रहेको थियो ।

कूल रकममध्ये नगरपालिकाले पाँच करोड ७२ लाख ३२ हजार बेरुजु रकम फछ्योट गरेको छ। नगरपालिका यसअघि कार्य सम्पदान मूल्याङ्कनमा देशमै उत्कृष्ट ठहर भएको थियो।

कञ्चनपुरका पुर्नवास नगरपालिका–४ दशमलव ७६, बेलौरी नगरपालिकामा ५ दशमलव ०६, कृष्णपुर नगरपालिकामा १ दशमलव ६९, भीमदत्त नगरपालिकामा ३ दशमलव ०६, बेदकोट नगरपालिकामा १ दशमलव ५०, महाकाली९दोधरा चाँदनी० नगरपालिमा ११ दशमलव ०४, लालझाडी गाउँपालिकामा १ दशमलव ५१ र बेलडाँडी गाउँपालिमा १ दशमलव ७७ प्रतिशत बेरुजु कायम रहेको छ।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी बाजुराको त्रिबेणी नगरपालिकामा १७ दशमलव ६० प्रतिशत बेरुजु कायम छ। संविधानको धारा २४१ अनुसार स्थानीय तहको लेखापरीक्षण नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यको आधारमा महालेखापरीक्षकबाट हुने व्यवस्था छ।रासस


८ भदौ २०७८, मंगलवार १७:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु