सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने सत्ती पुल भासियो
कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिकाको सीमामा रहेको कर्णाली नदीको पुल भासिएको छ । कर्णाली नदीमा पानी बढेपछि पुल भासिएको हो । यो पुलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई जोड्छ ।
पुलको पूर्वतर्फको भाग भासिएको इलाका प्रहरी कार्यालय सत्तीका इन्चार्ज प्रहरी नायव निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए । उनका अनुसार नदीले पूर्वतर्फको भाग काट्न थालेको छ । पुलमा आवागमन बन्द गरिएको छ ।
यो पुल हुलाकी राजमार्गअन्तर्गत निर्माण भएको हो । पुल निर्माण भएसँगै पूर्वतर्फको भागमा नदीले हरेक वर्ष कटान गर्दै आएको थियो । यो पुल निर्माण भएपछि कैलाली र बर्दिया जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो ।
पुल रसुवा कन्स्ट्रक्सन प्रालिले पाँच वर्षअघि समयावधिभन्दा झण्डै नौ महिनाअगाडि निर्माण सम्पन्न गरेको थियो । पाँच वर्षसम्म निर्माण कम्पनीले मर्मतसम्भार गर्दै आए पनि गत वर्षदेखि भासिएको भाग मर्मत हुन नसक्दा राजापुरतर्फको भाग भासिएर आवागमन अवरुद्ध भएको हो ।
१२ असार २०७८, शनिवार १९:३३ बजे प्रकाशित































