सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री शाहद्वारा देउवा पक्षको अधिवेशनमा सहभागी हुन अपिल
धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता कमलबहादुर शाहले आज देखि सुरु हुने नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले आयोजना गरेको १५औँ महाधिवेशनमा सहभागी हुन पार्टीका नेता–कार्यकर्तालाई अपिल गरेका छन् ।
नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता समेत रहेका शाहले सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै असोज १५ गतेदेखि वडा तहबाट सुरु हुने अधिवेशनमा लोकतान्त्रिक मूल्य, विधि र प्रक्रियाप्रति प्रतिबद्ध रहँदै उत्साह, ऊर्जा र एकताका साथ सक्रिय सहभागिता जनाउन आग्रह गरेका हुन् ।
उनले सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई अधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् । देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रदेश हुँदै आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । यसैबीच नेपाली कांग्रेसभित्र संस्थापन पक्षले पनि १५औँ महाधिवेशन गरिरहेको छ ।
१५ असोज २०८३, बिहीवार १२:४२ बजे प्रकाशित














