सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै
असार १ मा बजेट ल्याउनु पर्ने संवैधानिक व्यबस्था अनुसार आज सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८र७९ का लागि बजेट ल्याउँदैछन् ।
नेकपा एमाले नेतृत्वका ३, माओवादी केन्द्रका २ र कांग्रेस र जसपा नेतृत्वका एक एक प्रदेश सरकारले मंगलवार बजेटको तयारी गरेका छन् । सरकार फेरबदलका कारण नीति तथा कार्यक्रम ल्याउन ढिला गरेको गण्डकी प्रदेश सरकारले अपरान्ह ४ बजे बजेट पेश गर्दैछ ।
त्यसअघि प्रदेश सभाको बैठकले आजै सरकारका नीति तथा कार्यक्रम पारित गर्दैछ । प्रदेश प्रमुख सीता पौडेलले सोमवार प्रदेश सभामा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
मन्त्रीहरुको कार्यविभाजन नभएका कारण मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आफैले बजेट पेश गर्ने तयारी गरेका छन् ।
प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारले बजेट ल्याउँदैछ । पार्टी भित्रको विवादका बावजुद यी प्रदेशमा नीति तथा कार्यक्रम पारित भएका छन् ।
माओवादीको नेतृत्वमा रहेको कर्णाली र सुदूरपश्चिम सरकारले पनि मंगलवार बजेटको तयारी गरेका छन् । नेकपा एमालेले कर्णाली सरकारलाई बजेटमा समेट्ने १९ बुँदे सुझाव दिएको थियो ।
लुम्बिनीमा ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी भएको छ । दिउसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले बजेट पेश गर्दैछन् ।जेठ १५ मा संघ र असार १ गते प्रदेश सरकारले बजेट ल्याउनु पर्ने संवैधानिक व्यबस्था छ ।
१ असार २०७८, मंगलवार १०:१० बजे प्रकाशित































