चीनबाट १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाका पुग्यो
नेपाल सरकारको पहलमा चीन सरकारबाट सहयोग प्राप्त १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ ।
नाकासम्म आइपुगेको अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भइरहेको उपप्रधानमन्त्री तथा सिसिएमसीका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा उपलब्ध गराउने घोषणा अनुसार अहिले चीनबाट अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्री आइरहेको हो ।
यसअघि चीनबाट ४ सय सिलिण्डर फ्लाइटबाट आइसकेको छ भने मस्कटबाट पनि ५६० वटा अक्सिजन सिलिण्डर नेपाल आइसकेको छ । थप १६ सय अक्सिजन सिलिण्डर फ्लाइटबाट नेपाल आउने प्रेस सल्लाहकार पाण्डेले जानकारी दिए ।
कोरोना संक्रमण बढिरहेको र हस्पिटलहरुमा अक्सिजन अभाव भइरहेको सन्दर्भमा सरकारले चीन लगायतका देशबाट अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री आयातलाई प्राथमिकतामा राखेको छ ।
हस्पिटलहरुमा अक्सिजन र बेड अभाव हुन नदिन सिसिएमसी संयोजक पोखरेलको नेतृत्वमा सरोकारवालासँग निरन्तर छलफल भइरहेको पाण्डेले जानकारी दिए ।
२ जेठ २०७८, आइतवार ०९:४६ बजे प्रकाशित































