कम्युनिष्ट र मधेसी दलले अब एक सीट पनि जित्दैनन् : नेता निधि
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनमा तथाकथित मधेशवादी दलले प्रदेश २ मा कुनै सिट नजित्ने दावी गरेका छन्। प्रतिनिधि सभाका ४ सिटमध्ये मधेशवादी दलले चारै सिट जितेको पर्सामा उनले यस्तो बताएका हुन्।
पर्साको वीरगन्जका पत्रकारहरूसँग कुरा गर्दै उपसभापति निधिले आगामी निर्वाचनको चर्चा गरेका हुन्। उनले कुनै कम्युनिष्ट पार्टी भन्नेले पनि अबको निर्वाचनमा कांग्रेसलाई यो प्रदेशमा एउटा पनि सिटमा हराउन नसक्ने बताए।
कांग्रेसको मूख्य प्रतिस्पर्धीका रूपमा रहेको दुईतिहाइ नजिकको कम्युनिष्ट नेतृत्वको सरकार आफ्नै अकर्मण्यताका कारण दुई चोइटा भएका बेला हौसिएका नेता निधिले मधेशवादी दललाई त दलसम्म पनि नठानी तथाकथित संज्ञा दिए।
उनका अनुसार कांग्रेसलाई कांग्रेसले मात्र हराउन सक्छ, नत्र अन्य कुनै दलले कांग्रेसलाई हराउन सक्दैन। विगतका निर्वाचनमा कांग्रेसभित्र भएका अन्तर्घाततर्फ पनि इंगित गरेको उनले बताए ।
उनले संसद विघटन कदम असंवैधानिक भएको, तर निर्वाचनको बाटोको भने गलत कदम नभएको बताए। निर्वाचन त लोकतन्त्रको बाटो भएकाले कांग्रेस निर्वाचनबाट नभाग्ने उनले जानकारी गराए।
२७ माघ २०७७, मंगलवार ११:३४ बजे प्रकाशित












