सीमामा एसएसबीको दादागिरी कायमै, नेपालीलाई बाटो हिड्न पनि रोक

कञ्चनपुरमा एसएसबीले सीमा क्षेत्रमा रहेको बाटो अवरुद्ध पार्दै नेपाली किसानहरुलाई डिँडडुल गर्न बन्द गरेको छ । भारतको राजधानी नयाँदिल्लीमा सीमालगायतका विषयमा बैठक चलिरहँदा नेपालमा भारतीय एसएसबीले फेरि सीमा क्षेत्रमा दादागिरी देखाउन सुरु गरेको छ ।

सीमा सम्बन्धी मामिलालाई नेपाली पक्षले उठाए पनि भारतीय पक्षले ‘द्विदेशीय सचिव स्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपबाट निष्कर्षमा पु¥याउनुपर्ने विषय’ भन्दै पन्छाईरहँदा कञ्चनपुरको बलौरी नगरपालिकामा भारतीय पक्षले बाटो अवरुद्ध पारेपछि तनाव सिर्जना भएको थियो ।

शुक्रबार बैठक लगत्तै नेपाली दूतावासद्वारा जारी विज्ञप्तीमा सीमाको मुद्दामा छलफल भएको र टुंगोमा पुग्न बाँकी खण्डलाई चाँडो निष्कर्षमा पुर्याउने प्रतिबद्धता दुवै पक्षबाट व्यक्त गरिएको भन्दै विगतकै जस्तो भाषा उल्लेख गरिएको छ । तर यता सीमावर्ती क्षेत्रमा भारतीय दादागिरी कायमै रहेको हो ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नम्बर १० को सडकघाटमा बाटो अवरुद्ध गरेको थियो । सीमा स्तम्भ नम्बर ३५ नजिक रहेको अस्थायी सडकलाई एसएसबीले अवरोध गरेको थियो । नेपाली र भारतीय दुवै पक्षले प्रयोग गरिरहेको सीमाको सडकमा एसएसबीले हिँड्न नदिएपछि किसानले काटेको उखु मिलसम्म पुर्याउन समस्या भएको छ ।

अहिलेसम्म प्रयोग गर्दै आएको बाटोलाई ‘नो मेन्स लेण्ड’ भन्दै भारतीय पक्षले अवरोध गरेपछि किसानले काटेको उखु मिलमा लैजान पाएका छैनन् । यो क्षेत्रमा भारतीय पक्षले लागू गर्न खोजिएको स्ट्रीप नक्सामा भने झन्डै सीमा १५० मिटर भारततिर पर्ने देखिएको छ ।

सोही क्षेत्रमा एसएसबीले केही समय अघि बनाएको अस्थायी पोष्ट स्थानीय जनता र सशस्त्र प्रहरीले हटाई दिएका थिए । सोही विषयमा अनावश्यक ईगो साँधेर एसएसबीले नेपालीलाई दुःख दिन खोजेको अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टले बताए । उनले एसएसबीले भारतीय किसानलाई बाटो प्रयोग गर्न दिएपनि नेपालीमाथि भने अवरोध गरेको जानकारी दिए ।


३ माघ २०७७, शनिवार १५:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु