अछाममा सुत्केरी महिलाको निधन

अछाममा एक सुत्केरी महिलाको निधन भएको छ । सोमबार राति उच्च रक्तस्रावका कारण तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ नाडाकी ३८ वर्षीया नामसरा विकको निधन भएको जिल्ला अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालका डा. अतुल भारद्वाजका अनुसार सोमबार दिउँसो व्यथा लागेको र रक्तस्राव भएको भन्दै तुर्माखाँद स्वास्थ्य चौकी पुगेकी थिइन् । अवस्था गम्भीर भएका कारण स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि उनलाई दिउँसो साढे ४ बजे जिल्ला अस्पताल रिफर गरिएको थियो ।

डा भारद्वाजका अनुसार महिलालाई तुर्माखाँदबाट मंगलसेन पुर्‍याउनै ६ घण्टा लाग्यो । त्यतिन्जेल रगत अत्यधिक बगिसकेको थियो । साँझ करिब १० बजेतिर जिल्ला अस्पताल पुर्‍याइएको थियो,’ अस्पताल पुग्दा उनको अवस्था गम्भीर थियो । हामीले नर्मल डेलिभरी नै गरेका हौं । बच्चा पेटमै मरिसकेको थियो ।

उनले रात १२ बजे उनले बच्चा जन्माएको र त्यसको केही समयपछि उच्च रक्तस्रावका कारण निधन भएको बताए । सुत्केरी भइसकेपछि हामी ब्लड दिने तयारीमा थियौं । अनेक प्रयास गर्दा पनि महिलालाई बचाउन सकिएन,’ उनले भने, ‘शिशु जन्मेको केही समयपछि उनको निधन भएको जानकारी गराए।’ परिवारका अनुसार नामसराका यसअघि ३ छोरा र २ छोरी छन् । छैटौं शिशुलाई जन्म दिने क्रममा उनको निधन भएको हो ।


१६ मंसिर २०७७, मंगलवार १०:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु