भारी वर्षाको सम्भावना, प्रधानमन्त्री शाहद्वारा सतर्क रहन आग्रह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ यतिबेला अमेरिकामा छन् । उनी संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका हुन् ।
हिजो राति न्यूयोर्क प्रस्थान गरेका शाहले आज अमेरिकाबाट सामाजिक सञ्जालमार्फत देशबासीलाई प्राकृतिक विपत्तिबाट हुनसक्ने अवस्थाबारे जानकारी गराएका हुन् ।
उनले मौसम विज्ञान विभागले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जानकारी गराएको भन्दै सचेत रहन आग्रह गरेका छन् ।
ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार आग्रह गर्दै प्रधानमन्त्री शाहले मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरेका छन् ।
सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गर्दै उनले सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन अनुरोध समेत गरेका छन् ।
८ असोज २०८३, बिहीवार ०७:५७ बजे प्रकाशित














