कञ्चनपुर र डडेल्धुरामा धेरै भारी वर्षा

धनगढी। पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा मध्यमदेखि धेरै भारी वर्षा भएको छ। पश्चिम नेपालको कञ्चनपुर र डडेल्धुरामा धेरै भारी वर्षा मापन भएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुरमा कञ्चनपुरको भम्का स्थित हनमाननगर स्टेशनमा सबैभन्दा धेरै १४१.४ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै डडेल्धुराको गाईबान्ने स्टेशनमा १२७.८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएकमो छ। उता तराईको सिरहामा पनि भारी वर्षा भएको छ, जहाँ ९० मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।

मौसम विज्ञानमा २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ भने १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ। धेरै वर्षा भएका स्थानमा रहेका नदी तथा खोलाका तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकोले सतर्क रहन सरोकारवालाले सचेत गराएका छन्।

आइतबार राति काठमाडौं उपत्यका लगायतका क्षेत्रमा पनि वर्षा भएको थियो। वर्षाका कारण राति यहाँका हनुमन्ते, बागमतीलगायतका खोलामा बाढी आएको थियो। हनुमन्तेको बाढीले राति खतराको तह पार गरेको थियो अहिले भने वहाब घटेको छ।


२२ भदौ २०८३, सोमवार १०:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु