punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको बुढीतोला बाख्रा केन्द्रमा अर्को बेथिति : सस्तोमा जग्गा किनेर काम नगरी तलब खुवाएको आरोप

Chaupati
safha napa

धनगढी । कैलालीको बुढीतोलास्थित बाख्रा आनुवांशिक स्रोत केन्द्रमा अर्को गम्भीर विवाद सार्वजनिक भएको छ। पहुँचका आधारमा स्थानीय कांग्रेसी नेता तथा होटल व्यवसायी चक्रबहादुर खनाललगायतलाई संरक्षण गर्दै अन्य स्थानीयलाई कामबाट हटाएको विवाद सेलाउन नपाउँदै केन्द्रसँग सम्बन्धित अर्को विषय बाहिर आएको हो।

केन्द्रमा विगत १० वर्षदेखि स्टोर किपरका रूपमा कार्यरत पशु प्राविधिक सुनिता केसीमाथि गम्भीर आरोप लागेको छ। २०७२ सालदेखि केन्द्रमा बाख्रा हेरालुका रूपमा ज्यालादारी कर्मचारी रहेकी गोदावरी नगरपालिका–४, भ्यागुतेपानीकी इन्दिरादेवी ओलीबाट घडेरी खरिद गरेपछि केसीले उनलाई काममा उपस्थित नभई मासिक ज्याला दिलाउने गरेको आरोप लगाइएको छ।

स्थानीय स्वास्थ्य स्वयंसेविका समेत रहेकी ओलीलाई ‘काममा आउन पर्दैन, हाजिरी म मिलाइदिन्छु’ भन्दै विश्वासमा पारेर बुढीतोलामै सस्तोमा ऐलानी जग्गा खरिद गरेको दाबी स्रोतको छ। त्यसयता ओली नियमित रूपमा काममा नआउने र कहिलेकाहीँ आए पनि केसीकै आडमा लापरवाही गर्ने गरेको आरोप छ।

त्यति मात्र होइन, केन्द्रमा कार्यरत केसीले नै कार्यालयको अधिकांश कामकाज मिलाउने र त्यहाँ आउने प्रमुखलगायतका कर्मचारीलाई समेत प्रभावमा राख्ने गरेको स्रोतको दाबी छ।

यता, ज्यालादारी कर्मचारी इन्दिरा ओलीले भने आफूले सुनिता केसीलाई जग्गा बिक्री गरेको स्वीकार गरेकी छन्। तर त्यसको बदलामा काम नगरी पारिश्रमिक लिने गरेको आरोप अस्वीकार गरेकी छन्। आफू स्वास्थ्य स्वयंसेविकाका रूपमा पनि कार्यरत रहेकाले तालिम वा अन्य कामका लागि गाउँ जाँदा आफ्नो सट्टामा अर्को व्यक्तिलाई काममा पठाउने गरेको उनले बताइन्।

उता, आफूविरुद्ध लागेका सबै आरोप निराधार र झुटा भएको सुनिता केसीको दाबी छ। आफू कार्यालयको सबैभन्दा तल्लो तहको कर्मचारी भएको र प्रमुखसहित माथिल्ला अधिकारीहरूको निरन्तर निगरानी रहने भएकाले कुनै कर्मचारीलाई काम नगरी भुक्तानी गराउने कुरा सम्भव नै नभएको उनले बताइन्।

कार्यालय प्रमुखलगायतका कर्मचारीलाई आफूले प्रभावमा राख्ने आरोप पनि असत्य भएको केसीको भनाइ छ।

यसअघि पनि केन्द्रमा ज्यालादारीमा कार्यरत १४ स्थानीयमध्ये चार जनालाई कामबाट हटाइएपछि विवाद भएको थियो। स्थानीय होटल सञ्चालक चक्रबहादुर खनालसहित तीन परिवारका श्रीमान–श्रीमतीलाई भने यथावत राखिएको र परिवारबाट एक जना मात्रै कार्यरत रहेका अन्य कर्मचारीलाई हटाइएको भन्दै असन्तुष्टि बढेको थियो।

विवाद चर्किएपछि हटाइएका चार जनाले केन्द्रमा तालाबन्दी गरेका थिए। केन्द्रले संवादमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि ताला खोलिएको भए पनि हालसम्म कुनै औपचारिक छलफल नभएको उनीहरूको गुनासो छ।


१८ साउन २०८३, सोमवार १०:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु