मतदानपछि पुनः भारत जाँदै सुदूरपश्चिमका नागरिक

धनगढी।सुदूरपश्चिम प्रदेशको प्रमुख नेपाल–भारत सिमानाका त्रिनगर नाकामा बिहानैदेखि मानिसहरूको चहलपहल देखिन्छ । साना झोला बोकेका, हातमा कागजात समातेका र छेउमा परिवारका सदस्य उभिएका नागरिकहरूको भीडले यहाँको वातावरण सधैँजसो व्यस्त बनाइरहेको हुन्छ । निर्वाचनका बेला स्वदेश फर्किएका धेरै नेपाली अहिले मतदान सकिएलगत्तै फेरि भारततर्फ फर्किने क्रम बढेको छ । रोजगारी, उपचार, व्यापार तथा अन्य व्यक्तिगत कामका लागि दैनिक सयौँ नेपाली यो नाका हुँदै भारत जाने–आउने गर्छन् । खुला सिमानाका कारण यो आवतजावत सहज भए पनि कतिपयका लागि भने आवश्यक कागजातको अभावले समस्या पनि सिर्जना गरिरहेको छ ।

कञ्चनपुरको महेन्द्रनगरका पदम पन्त त्रिनगर नाकामा भेटिए । उनी हातमा सानो झोला बोकेर केही साथीहरूसँग भारत फर्किने तयारीमा थिए । पन्त दुई महिनाअघि मात्रै नेपाल आएका थिए । उनी नेपाल फर्कनुको मुख्य कारण रोजगारी वा पारिवारिक भेटघाट नभई मतदान थियो । ‘यहाँ रोजगारीको सम्भावना छैन,’ उनले भने, ‘भारतमै काम गर्छु । दुई महिनाअघि मतदान गर्न मात्रै नेपाल आएको हुँ । अहिले फेरि काममा फर्किन लागिएको हो ।’ उनका अनुसार उनी भारतको उत्तराखण्ड क्षेत्रमा मजदुरी गर्छन् । दैनिक ज्यालादारी कामबाट परिवार चलाउँदै आएका पन्तका लागि नेपाल बसाइभन्दा भारतको काम नै भरपर्दो आयस्रोत बनेको छ । उनले भने, ‘घर यहीँ हो, तर काम भने भारतमै छ । चुनाव हुँदा फर्किन्छौँ, भोट हाल्छौँ अनि फेरि कामतिर लाग्छौँ ।’

त्रिनगर नाकामै भेटिइन् अछामकी कल्सु साउँद । उनी पनि भारत जानका लागि लाइनमा उभिएकी थिइन् । तर उनको गन्तव्य रोजगारी होइन, स्वास्थ्य उपचार थियो । साउँद पहिले पनि भारतमै उपचार गराएर फर्किएकी थिइन् । निर्वाचनपछि देशमै उपचारको राम्रो व्यवस्था भएको छ कि भनेर केही समय कुर्न चाहेको उनले बताइन् । तर नियमित स्वास्थ्य परीक्षणका लागि अन्ततः फेरि भारत नै जानुपरेको उनको भनाइ छ ।

‘पहिला पनि भारतमै उपचार गराएको हुँ,’ उनले भनिन्, ‘मतदान गरेपछि नेपालमै जाँच गरौँ भन्ने सोचेकी थिएँ । तर अहिले नियमित चेकअपका लागि फेरि भारत जान लागेकी हुँ ।’ उनका अनुसार सुदूरपश्चिमका धेरै बिरामीहरू उपचारका लागि भारतका अस्पतालमा भर पर्छन् । विशेषगरी किड्नी, मुटु, क्यान्सर वा जटिल रोगका उपचारका लागि भारतका सहरहरू सहज विकल्प मानिन्छन् ।

त्रिनगर नाकाको भीडमा धनगढीका चन्द्र सिंह भने केही अन्योलमा देखिन्थे । उनी आमाको उपचार गराएर धनगढी फर्किएका थिए । अहिले फेरि भारत फर्किने तयारीमा भए पनि उनीसँग आवश्यक नेपाली कागजात थिएन । उनको साथमा भारतीय आधार कार्ड मात्र थियो । भोटर कार्ड पनि नभएकाले भारतीय सीमा सुरक्षा बलले प्रवेशमा रोक लगाएको उनले बताए । ‘आमालाई उपचार गराएर फर्किएको थिएँ । अहिले फेरि भारत जानुपर्ने थियो,’ उनले भने, ‘तर नागरिकता छैन, आधार कार्ड मात्रै छ । त्यसैले सीमा प्रहरीले जान नदिने भन्यो ।’ नाकामै रोकिएपछि उनी के गर्ने भन्ने अन्योलमा थिए । आवश्यक कागजात नभएकाले सीमापार गर्न नपाउँदा उनी जस्ता धेरै नागरिक समस्यामा पर्ने गरेका छन् ।

नेपाल–भारतबीच खुला सिमाना रहेको छ । दुई देशका नागरिकले धेरै ठाउँमा सहज रूपमा आवतजावत गर्न पाउने व्यवस्था छ । यही कारण सुदूरपश्चिमका नागरिकहरू दैनिक रोजगारी, व्यापार, शिक्षा र उपचारका लागि भारत जाने गर्छन् । त्रिनगर नाका सुदूरपश्चिमको प्रमुख आवतजावत बिन्दु मानिन्छ । यहाँबाट दैनिक हजारौँ मानिस नेपाल–भारत आउजाउ गर्ने गर्छन् ।

सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि यो आवतजावत सामान्य जीवनशैलीकै हिस्सा बनेको छ । बिहान नेपालबाट भारत काममा जाने र साँझ फर्किने मानिसहरू पनि प्रशस्त भेटिन्छन् । हालै सम्पन्न निर्वाचनका कारण केही समयका लागि सीमामा फर्कने नेपालीहरूको संख्या बढेको थियो । भारत लगायत विभिन्न देशमा काम गर्ने नेपालीहरू मतदानका लागि घर फर्किएका थिए । निर्वाचन सम्पन्न भएपछि भने उनीहरू पुनः कामका लागि विदेश फर्किने क्रम बढेको छ ।

त्रिनगर नाकामा कार्यरत सुरक्षाकर्मीहरूका अनुसार पछिल्लो केही दिनयता भारत फर्किनेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ । विशेषगरी युवा तथा श्रमिक वर्गका मानिसहरू झोला बोकेर भारत जाने दृश्य सामान्य बनेको छ । सुदूरपश्चिम प्रदेशबाट भारत जाने प्रमुख कारण रोजगारी हो । स्थानीय स्तरमा पर्याप्त रोजगारीको अवसर नहुँदा धेरै युवा भारतमा काम गर्न बाध्य छन् । निर्माण क्षेत्र, होटल, उद्योग, कृषि तथा अन्य दैनिक ज्यालादारी काममा नेपालीहरू काम गर्ने गर्छन् । कञ्चनपुर, कैलाली, दार्चुला, बैतडी, अछाम, डोटी, बझाङ बाजुरा लगायत जिल्लाबाट हजारौँ नागरिक भारतका विभिन्न सहरमा रोजगारीमा संलग्न रहने गरेका छन । स्थानीय युवाहरूका अनुसार नेपालमा कामको अवसर कम हुनु र कमाइ पनि पर्याप्त नहुनु भारत जाने प्रमुख कारण हो ।

रोजगारी मात्र होइन, स्वास्थ्य उपचारका लागि पनि भारत जाने नेपालीहरूको संख्या ठूलो छ । सुदूरपश्चिमका धेरै जिल्लामा विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र ठूला अस्पतालहरूको अभाव छ । त्यसैले जटिल रोग लागेका बिरामीहरू प्रायः भारतका अस्पतालतर्फ जाने गर्छन् । धनगढी, महेन्द्रनगर लगायत सीमावर्ती क्षेत्रबाट भारतका बरेली, हल्द्वानी, देहरादून र दिल्लीसम्म उपचारका लागि बिरामी जाने गरेको स्थानीयहरू बताउँछन् ।

खुला सिमाना भए पनि पछिल्लो समय सीमा पार गर्दा आवश्यक कागजातको जाँच कडा बनाइएको छ । नागरिकता, मतदाता परिचयपत्र वा अन्य पहिचान कागजात नहुँदा कतिपय नागरिक सीमामै रोकिएका उदाहरणहरू बढ्दै गएका छन् । त्रिनगर नाकामा भेटिएका केही यात्रुहरूका अनुसार पहिले जस्तो सहज आवतजावत अहिले कम भएको छ । सुरक्षा कारणले सीमा प्रहरीहरूले कागजात जाँच गर्न थालेपछि कागजात नभएका मानिसहरूलाई समस्या हुने गरेको छ ।

त्रिनगर नाकामा देखिने भीडले सुदूरपश्चिमको सामाजिक र आर्थिक यथार्थ पनि झल्काउँछ । एकातिर रोजगारीका लागि भारत जाने युवाहरू छन् भने अर्कोतिर उपचारका लागि सीमापार गर्न बाध्य बिरामीहरू । कतिपय नागरिक भने कागजातको अभावले सीमामै रोकिने अवस्था पनि देखिन्छ । मतदान गर्नका लागि स्वदेश फर्किएका नागरिकहरू फेरि काम र जीवनयापनका लागि भारत फर्किनु सुदूरपश्चिमका सीमावर्ती क्षेत्रको सामान्य दृश्य बनेको छ ।

खुला सिमाना र पारिवारिक सम्बन्धका कारण नेपाल–भारतबीचको आवतजावत भविष्यमा पनि निरन्तर रहने देखिन्छ । तर यसका साथसाथै रोजगारीको अभाव, स्वास्थ्य सेवाको कमी र कागजात व्यवस्थापनजस्ता समस्याहरू समाधान गर्न नसके सीमावर्ती नागरिकहरूले यस्तै चुनौतीहरू भोगिरहनुपर्ने अवस्था कायम रहने स्थानीयहरू बताउँछन् ।


२८ फागुन २०८२, बिहीवार १३:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु