डडेल्धुरा अस्पतालबाट स्वास्थ्य बिमाको प्रथम बिन्दु हटाइएकोमा चौतर्फी विरोध
डडेल्धुरा। डडेल्धुरा अस्पताललाई स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दुबाट हटाएको भन्दै विरोध भएको छ। हजारौं बिमितलाई स्वास्थ्य बिमा कार्यक्रमबाट वञ्चित हुने गरी प्रथम बिन्दुबाट हटाइएको भन्दै विरोध भएको हो ।
माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति नै जारी गर्दै विरोध गरेका छन् भने अन्य दलका नेताहरू र सर्वसाधारणले पनि प्रथम सेवा बिन्दु कायम गर्न माग गरेका छन् ।
स्वास्थ्य बीमा बोर्डले सुदूरपश्चिमको एक मात्र संघीय अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाएको थियो। प्रथम सेवा बिन्दुबाट हटाइएसंगै साउन १ गतेदेखि प्रथम सेवा बिन्दुबाट सिफारिस लिएर आएका बिमित बिरामीहरूले मात्र डडेल्धुरा अस्पतालमा बिमा सुविधा पाउने जानकारी अस्पतालले गरेको छ । डडेल्धुरामा प्रथम सेवा बिन्दु जोगबुढा अस्पताललाई राखिएको छ।
यस्तै, नेपाली काँग्रेसका नेता कार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवालाई प्रथम सेवा बिन्दुबाट हटाइएको भन्दै ध्यानाकर्षण गराएका छन्। सुदुरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री गोविन्दराज बोहराको नेतृत्वमा देउवा निवास गएको टोलीले बुधबार डडेल्धुरा अस्पताललाई फेरि स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दुमा कायम गर्न माग गरेका थिए।
देउवाले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई फोन गरेर सोबारे बुझेको डडेल्धुरा नेविसंघका अध्यक्ष पवन ऐरले बताए। ‘तीन महिनाका लागि डडेल्धुरा अस्पताललाई प्रथम सेवा बिन्दु कायम गर्ने र त्यसपछि प्रत्येक स्थानीय तहमा एउटा प्रथम बिन्दु बनाएर डडेल्धुरा अस्पताललाई रेफरल अस्पताल बनाउने तयारी भइरहेको स्वास्थ्यमन्त्रीले जानकारी गराउनुभएको थियो,’ ऐरले मर्निङ बेलसँग भने ।
स्वास्थ्य मन्त्री पाैडेलका स्वकीय सचिब दुर्गा घिमिरेले सभापति देउवाको फोनको विषयमा आफुलाई जानकारी नभएको बताए। तर, उनले स्थानीय पालिकाहरूमा पनि जिम्मेवारी गएकाले यस्तो भएको बताएका छन्। उनले भने, ‘सामान्य औषधीहरु पालिकाबाट पनि हुन्छ। संघीय अस्पतालमै आउनु पर्दैन। यो निर्णयले संघीय अस्पतालहरुमा हुने भिड कम हुँदै जाने छ। ऐनको व्यवस्था अनुसार यो भएको हो। आधारभुत स्वास्थ्य संस्थामा पनि बिमा हुनेछ।’ स्थानीय तहहरु मातहतका अस्पतालमा पनि बीमा कार्यक्रम लागु गरिएको घिमिरेले बताए।
३२ असार २०८२, बुधवार १७:०६ बजे प्रकाशित













