गृह मन्त्रालयद्वारा प्रहरी महानिरीक्षक कुँवरको बिदाइ

काठमाडौँ । आजदेखि अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको गृह मन्त्रालयले बिदाइ गरेको छ । गृहमन्त्री रमेश लेखकले सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा कुँवरलाई शुभकामनासहित बिदाइ गरेका हुन् । कार्यक्रममा मन्त्री लेखकले प्रहरी महानिरीक्षक कुँवरलाई मायाको चिनोसमेत प्रदान गरे।
मन्त्री लेखकले प्रहरी महानिरीक्षक कुँवरलाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। कुँवरले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवं इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उनले आगामी दिनमा पनि आवश्यकताअनुरूप राष्ट्रको लागि थप काम गर्ने अवसर प्राप्तिको शुभकामनासमेत व्यक्त गरे।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको शान्ति, सुरक्षाको सुनिश्चितता गर्ने प्रहरी संगठनको प्रमुखको महत्त्वपूर्ण र गरिमामय पदमा कार्यरत भएर मुलुकका लागि पुर्याएको योगदान अतुलनीय रहेको बताउँदै सेवा निवृत्तपछि अझ बढी प्रगतिको लागि शुभकामना दिए ।
सो अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षक पदसम्मको लामो यात्रा सम्पन्न गरी आज बिदाइ हुँदै गरेको क्षणलाई सम्मान र गौरवको रूपमा लिएको बताए।
आफ्नो कार्यकालको अवधिमा नेपाल प्रहरीको समायानुकूल आधुनिकीकरण, सांगठनिक सुदृढीकरण, विकास र स्तरोन्नतिको लागि नेपाल सरकार, गृह मन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनको लागि कृतज्ञतासमेत व्यक्त गरे।
आगामी दिनमा समेत नेपाल प्रहरी संगठनको श्रीवृद्धि एवं प्रहरी कर्मचारीहरूको हित र उत्प्रेरणाको लागि निरन्तर मार्गदर्शन र सकारात्मक पहलकदमी भइरहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरूलगायतको उपस्थिति रहेको थियो।
प्रहरी प्रधान कार्यालयले पनि महानिरीक्षक कुँवरसहित आजदेखि अवकाशमा जान लागेका नौ उच्च अधिकारीको बिदाइको तयारी गरेको छ। नवनियुक्त आइजिपीले अवकाशमा जान लागेका आइजिपीलाई बिदाइ गर्ने प्रचलन छ।
४ चैत २०८१, सोमवार १९:०६ बजे प्रकाशित