सुदूरपश्चिम प्रदेश सभाले मनायो स्थापना दिवस
धनगढी । सुदूरपश्चिम प्रदेश सभाले स्थापना दिवस मनाइएको छ। आज प्रदेश सभा सचिवालयले प्रदेश प्रमुख नजिर मियाँको प्रमुख आतिथ्ययतामा स्थापना दिवस मनाएको हो।
२०७४ माघ ७ गते सुदूरपश्चिम प्रदेश सभाको स्थापना भएको थियो। प्रदेश सभा स्थापना भएको सात वर्ष पूरा भएको छ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख मियाँले प्रदेश सभा मुलुकका लागि कोसेढुङ्गो रहेको बताए। उनले भने `सबै जना मिलेर काम गरेमा यो प्रदेश साँच्चिकै सुन्दरपश्चिम बन्ने छ।´
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हालसम्म प्रदेश सरकारले ४३ वटा ऐन, ७ वटा नीति, १६ वटा नियमावली र विभिन्न निर्देशिका बनाएको बताए। उनले प्रदेश सरकार आफ्नो कार्य सम्पादनलाई अझै प्रभावकारी बनाउँदै नागरिकका आकाङ्क्षाहरू पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।
कार्यक्रममा पूर्व मुख्यमन्त्रीहरू दीर्घबहादुर सोडारी, राजेन्द्र रावल, त्रिलोचन भट्ट, माओवादी संसदीय दलका नेता मानबहादुर धामी, उपसभामुख कोइलीदेवी चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
७ माघ २०८१, सोमवार २१:१७ बजे प्रकाशित













