८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट मुक्त भए रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने ८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट मुक्त भएका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने रिहा भएका हुन् । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्याएको थियो। त्यसयता पटकपटक म्याद थप्दै हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले पुस ७ गते उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी तीनवटा मुद्दा दर्ता गराएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा तीन करोड ३७ लाख ६५ हजार, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँँच रुपैयाँ बिगो दाबी गरेको छ । त्यसयता अदालतमा अभियुक्तहरूको बयान तथा वादी र प्रतिवादीको तर्फका वकिलको थुनछेक बहस चलिरहेको थियो ।
अदालतको आदेशमा भनिएको छ, ‘प्रतिवादी रवि लामिछानेको हकमा रवि लामिछानले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सञ्चालनमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बरबाट सन् २०२१ को जनवरी २२ मा जम्मा गरेको देखिँदा सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको र अन्य प्रतिवादीसँगको अन्तरसम्बन्ध तथा बैंक खाताको ट्रान्जेक्सनको आधारमा प्राप्त प्रमाणबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिएता पनि तत्काल माथि उल्लेखित प्रमाणबाट पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट फौजदारी कार्यविधि संहिताको ०६८ र ०७२ समेतको आधारमा धरौटीको ६५ लाख लिई वा सो बराबरको जेथा वा बैंक जमानत लिई वा दिन नसकेमा दफा ८० बमोजिम थुनामा राख्नू ।’
२५ पुस २०८१, बिहीवार २१:०६ बजे प्रकाशित













