भारतीय डोजर महाकालीमा पसेपछि दार्चुलामा बिहानैदेखि तनाव
दार्चुला। दार्चुलाको सदरमुकाम खलंगामा भारतीय स्काइभेटरले अनुमति बिना महाकाली नदी पार गर्दै नेपालको सीमा अतिक्रमण गरेपछि स्थानीयले कडा विरोध जनाएका छन्। नेपाल प्रहरीले स्काइभेटरका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।
स्थानीय बासिन्दाका अनुसार भारतीय पक्षले सीमा क्षेत्रमा यस्ता गतिविधि विगतदेखि नै गर्दै आएको छ। स्थानीयले यस घटनालाई नेपालको सार्वभौमसत्तामाथिको अतिक्रमण भन्दै आक्रोश व्यक्त गरेका छन्।
घटनास्थलमा भेला भएका स्थानीयले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनीहरूले भारतको दादागिरी र सीमा मिच्ने प्रवृत्तिको कडा आलोचना गरेका छन्।
प्रहरीका अनुसार आज बिहानदेखि स्काइभेटरका चालकलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको छ। घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको र स्थानीय प्रशासनले यसबारे भारतीय पक्षसँग औपचारिक कुरा गर्ने तयारी गरिरहेको बताइएको छ।
यस घटनाले नेपाल-भारत सीमा विवादलाई पुनः सतहमा ल्याएको छ। स्थानीयले यस्ता गतिविधि रोक्न कूटनीतिक तहमा प्रभावकारी पहल गर्न सरकारलाई दबाब दिएका छन्।
अहिले जिल्लाको सुरक्षा टिम लगायत जनप्रतिनिधि महाकालीमा पुगेका छन्।
७ पुस २०८१, आइतवार १३:१३ बजे प्रकाशित













