#belauri nagarpalika
#belauri

सुदूरपश्चिममा ५ पदका लागि ४ महिलासहित २६ उम्मेदवार भिँड्दै

#belauri
#bhimdat

धनगढी। सुदूरपश्चिममा रिक्त पालिकाहरुमा उपनिर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिदै गर्दा रिक्त रहेका पालिकाहरुमा चुनावी सरगर्मी बढेको छ।

तीन जना स्वतन्त्र उम्मेदवार समेत चुनावी मैदानमा छन्। यही मंसिर १६ गते हुने उपनिर्वाचनमा विभिन्न राजनीतिक दलहरुबाट उम्मेदवार बनेका छन्। सुदूरपश्चिममा एक गाउँपालिका उपाध्यक्षसहित पाँच वडाअध्यक्ष पद रिक्त छन्। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट पुल्तीसरा शाही, एकीकृत समाजवादीबाट जवा शाही, एमालेबाट सुलोचनाकुमारी भण्डारी चुनावी प्रतिस्पर्धामा छन्।
यस्तै बझाङको सुर्मा गाउँपालिका–४ मा पनि वडाअध्यक्षको पद रिक्त छ। सो पदका लागि एमालेबाट लखीचन्द्र बोहरा, कांग्रेसबाट धिरेन्द्र पुजारा र माओवादी केन्द्रबाट पुस्करबहादुर बोहरा गरी तीन जना उम्मेदवार चुनावी मैदानमा छन्। यस्तै डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा पनि वडाअध्यक्ष पद रिक्त छ।

रिक्त पदमा चुनाव लड्न एमालेबाट देवबहादुर थापा, कांग्रेसबाट मोहन थापा, माओवादी केन्द्रबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकीकुमारी खड्का गरेर चार उम्मेदवार निर्वाचन लड्न आमनेसामने भएका छन्। उता दार्चुलाको दुहुँ गाउँपालिका–५ मा वडाअध्यक्ष पद रिक्त छ।

रिक्त पदमा निर्वाचन लड्न एमालेबाट मानसिंह बडाल, कांग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट विरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर गरी चार जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यता कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा पनि वडाअध्यक्ष पद रिक्त छ। सो पदका लागि सबैभन्दा बढी १२ जना चुनावी मैदानमा होमिएका छन्।

एमालेबाट बहादुर चन्द, कांग्रेसबाट प्रकाश चन्द, माओवादीबाट नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट, राप्रपाबाट शुशिलकुमार भट्ट, जनमत पार्टीबाट यादवबहादुर चन्द, एकीकृत समाजवादीबाट जितेन्द्रबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीबाट हरिष डगौरा, नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा, राप्रपा नेपालबाट दिलबहादुर धामी, स्वतन्त्रबाट युवराज चन्द र स्वतन्त्रबाटै थानेश्वर लेखक चुनावी मैदानमा छन्।

चुनावी मैदानमा रहेका उम्मेदवारहरुलाई निर्वाचन आयोगले यसअघि नै निर्वाचन चिन्ह प्रदान गरिसकेको छ। जिल्ला समन्वय समिति कैलाली प्रमुखमा भने नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी टीकाकुमारी चौधरी (भूल)निर्विरोध निर्वाचित भइसकेकी छन्। निर्वाचन कार्यक्रम अनुसार मंसिर ६ देखि मंसिर १३ गते राति १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन्।

मंसिर १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध अवधि तोकिएको छ। निर्वाचन आयोगबबाट निर्वाचन आचारसंहिता मंसिर २ गतेदेखि जारी भइसकेकाले उक्त आचारसंहितको अक्षरसः पालना गरी निर्वाचन प्रचारप्रसारको कार्य गर्न गराउन सम्बन्धित सबै राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन सरोकारवालालाई आयोगले अनुरोध गरेको छ। साथै आयोगले मंसिर १६ गते सम्बन्धित मतदान केन्द्रमा पुगेर आफ्नो मतधिकार प्रयोग गर्न पनि सबैलाई अपिल गरेको छ।


१० मंसिर २०८१, सोमवार १४:१८ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु