सुदुरपश्चिम प्रदेश सरकारले ३१ गते बजेट ल्याउने

धनगढी । सुदुरपश्चिम प्रदेश सरकारले यही भदौ ३१ गते बजेट ल्याउने भएको छ। आज (शनिबार) धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले भदौ ३१ गते चालु आर्थिक वर्षको बजेट ल्याउने बताएका हुन्।

मुख्यमन्त्री शाहले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरेको बताए। संवैधानिक र कानुनी प्रक्रियामा रहेर नै बजेट आउँछ। यसअघि बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट ल्याउने उनले बताए ।

प्रदेश सरकारले बजेट निर्माणको लागि निर्धारण गरेका ४ वटा आधारहरूभित्रै रहेर बजेट ल्याउने तयारी गरेको बताउँदै ती आधारले बजेट कार्यान्वयनको पाटोलाई समेत मजबुत बनाउने उनको दाबी छ।

प्रदेश सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने, आवश्यकता र आौचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने आधार तय गरेको छ।

तत्कालीन दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत विनियोजन विधेयक (बजेट) पास नभएपछि नवगठित सरकार बजेट निर्माणमा जुटेको हो। निवर्तमान मु चालु आर्थिक वर्ष सुरु भएको २ महिना पुग्नै लाग्दा समेत बजेट ल्याउन असफल प्रदेश सरकारले अब भने ३१ गते बजेट आउने मिति नै तय गरेको छ। सुदूरपश्चिमको बजेट समयमा नआउँदा प्रदेश सरकार मातहतका कर्मचारीले तलब समेत पाउन सकेका छैनन्।


२९ भदौ २०८१, शनिवार १०:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु