धनगढीमा शिक्षकको घर फुटाएर १५ तोला सुन चोर्ने युवक पक्राउ
धनगढीमा एक जना शिक्षकको घर फुटाएर सुन र चाँदीका गरगहनासहित नगद चोरी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–४ को उत्तरबेहडीका शिक्षक योगेन्द्र ओझाको साढे २ तले घरको ढोका फुटाएर चोरी गर्ने फुलबारीका हर्क गिरीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
गिरीले कोही नभएको मौका छोपेर २३ गते बिहान ११ बजेतिर ओझाको उत्तरबेहडीस्थित घरको ढोका फुटाएर १५ तोला सुनका गरगहना, कम्तीमा ६० तोला चाँदीका गरगहना र २५ हजार रुपैयाँ नगद चोरी गरेका थिए ।
ओझाले घरमा चोरी भएको प्रहरीलाई खबर गरेपछि बुधबार र बिहीबार उनको खोजी गरिएको थियो । प्रहरीले बिहीबार(हिजो) राति करीब १२ बजेको समयमा एलएनचोकस्थित अमित प्लाजा नजिकै एकजनाको कोठामा सुतेको अवस्थामा फेला पारेको थियो ।
गिरीको साथबाट चाँदीका गरगहना बरामद गरिएपनि सुनका गरगहना भने नभेटिएको प्रहरी स्रोतले जनाएको छ । गिरीमाथि अनुसन्धान जारी छ । प्रहरीले सीसीटीभी फुटेको विश्लेषणका आधारमा गिरीको पहिचान गरेको थियो ।
यसअघि हसनपुरमा बस्दै आएक एक जना डाक्टरको घरमा चोरी गरेको मुद्दामा पनि गिरी पक्राउ परेका थिए । उनी कैलाली कारागारबाट कैद भुक्तान गरि हप्तादिन अघि मात्र छुटेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीले गिरीलाई पक्राउ गरिएको कुरा आधिकारीक रुपमा सार्वजनिक गरेको छैन । उनीमाथि अनुसन्धान जारी रहेकाले तत्काल सार्वजनिक नगरिएको बताइन्छ ।
२५ साउन २०८१, शुक्रवार ११:५४ बजे प्रकाशित