स्थानीय उत्पादन बेच्न ६ घण्टा पैदलयात्रा

वेदकोट । पिठ्यूँको ढोको घरायसी समानले भरिभराउ छ । बाल्टिन र पानी भरिएका केही बोतल त्यसमै छन् । अत्यधिक गर्मीले असिनपसिन । ४९ वर्षीया कृष्णा जोशी कञ्चनपुरको वेदकोट नगरपालिका–८ स्थित रौटेलामा यस्तै अवस्थामा भेटिनुभयो ।
उहाँ डडेल्धुराको परशुराम नगरपालिका–७ मलासबाट कुलुम र अम्रिसोको झाडु बिक्रीका लागि उहाँ महेन्द्रनगर झर्नुभएको हो । उक्त सामान बिक्री गरेर जम्मा भएको रकमले दैनिक उपभोग्य घरायसी समान किनेर घर फर्किने उहाँको योजना छ । “कुलुम र झाडु बिक्री गरेर रु दुई हजार कमाइयो । त्यो पैसाले नुन, तेल, सोडा, साबुन किनेर घर फर्किदैँ छु”, उहाँ भन्नुहुन्छ, “गाउँमा खानेपानीको सुविधा छैन । पानी ल्याउन एक घण्टा हिँड्नुपर्छ । त्यसैले यतैबाट पानी भरेर लैजाँदैछुँ ।” उहाँले कुलुम प्रतिकिलोग्राम रु ८० देखि एक सयका दरले बिक्री हुने गरेको जानकारी दिनुभयो ।
यस्तै अम्रिसोबाट तयार गरिएको झाडु रु ६० का दरले बिक्री हुने गरेको कृष्णाले बताउनुभयो । मलास सडक सञ्जालसँग नजोडिँदा महेन्द्रनगरसम्म पुग्न झन्डै छ घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिकरूपले विकट यहाँका स्थानीय केरा, आँप, काफल, नासपातीलगायत स्थानीय उत्पादन बिक्रीका लागि महेन्द्रनगर आउने गर्दछन् ।
खानेपानी, विद्युत्, यातायतको सुविधाबाट वञ्चित मलासवासीका लागि यहाँ कुनै ठूला पसल पनि छैनन् । त्यसैले स्थानीय उत्पादन बिक्री गरेर दैनिक उपभोग्य समानको जोहो गरेर लैजाने गरेको मलासकी चन्द्रा धामीले बताउनुभयो । “गाडी चल्ने बाटो छैन । चुरेको उकालो डाँडा छिचोलेर महेन्द्रनगर पुग्न घण्टौ पैदल हिँड्नुपर्छ,” उहाँले भन्नुभयो, “सोलार लिफ्टिङ प्रविधिबाट गाउँमा ल्याइएको खानेपानी तीन वर्षमात्रै चल्यो । अहिले बिग्रिएपछि एक घण्टा पैदल हिँडेर घट्टे खोलाको पानी पिउनुपर्ने बाध्यता छ ।”
परशुराम नगरपालिकको केन्द्र मानिएको जोगबुढा आउजाउ गर्न तीन दिन लाग्ने गरेको मलासकै ७५ वर्षीय रामबहादुर पुन मगर बताउनुहुन्छ । उहाँ जोगबुढा आउजाउ गर्न धेरै समय लाग्ने हुनाले महेन्द्रनगरको राष्ट्रिय वाणिज्य बैंकबाट वृद्धभत्ता बुझ्ने गर्नुहुन्छ ।

८ जेठ २०८१, मंगलवार १४:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु