योजना छनोटको लागि मेल्लेख गाउँपालिका अध्यक्ष साउद वस्तिमा
अछाम । संघीय सरकार र प्रदेश सरकारले बजेट ल्याएसँगै मेल्लेख गाउँपालिका पनि बजेट पूर्व तयारीमा जुटेको छ । बजेट पूर्व तयारीसँगै चालु आर्थिक वर्षको अन्त्यमा आइपुगेकाले जनप्रतिनिधि चालु आवमा भएको कामको अनुगमन तथा समीक्षा पनि गरिरहेका छन् ।
स्थानीय तहहरूले १० असारमा बजेट ल्याइ सक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । १० असार अघि नै नीति कार्यक्रम ल्याउने छन् । त्यसै अनुसार मेल्लेख गाउँपालिकाका जनप्रतिनिधिहरू आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेका छन् । मेल्लख गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउद, उपाध्यक्ष नृपबहादुर खड्का, विषयगत शाखाका प्रमुखहरू वडामै पुगेर आगामी आर्थिक वर्षका योजनाको लागि छलफलमा जुटेका हुन् ।
दिगो विकासको लागि स्थानीय सहभागितालाई अनिवार्य शर्त राखेर वडामै पुगेर आगामी आर्थिक वर्षको लागि योजना छनोट गर्ने कार्य सुरु गरिएको मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउदले जानकारी दिए । उनकाअनुसार जनताको आवश्यकताका आधारमा वडाबाट आएका योजनालाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण गरिनेछ । सबै वडाबाट योजना प्राप्त भएपछि प्राथमिकीकरण गरिने अध्यक्ष साउदको भनाई छ ।
स्थानीय तहले जनप्रतिनिधि पाएपछि नीति नियम अनुसार जनसहभागिता मूलक गराएर सुशासन र पारदर्शिता कायम हुने गरी योजना छनोट गरिने अध्यक्ष साउदको भनाई रहेको छ । उनले शुक्रबारबाट सुरु भएको भेलामा वडाका सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, पूर्व जनप्रतिनिधि लगायत सरोकारवालालाई सुझावको लागि आमन्त्रण गरिएको बताए । वडातहमा योजना छनौट र प्राथमिकीकरण काम सम्पन्न भएपछि त्यसैका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयार गरिनेछ ।
२ असार २०८०, शनिवार ११:५० बजे प्रकाशित













