सांसदलाई सुन चाँदी जडित साढे पाँच लाखको लोगो बितरण गरिसकेपछि फेरी अर्को लोगो बनाउने तयारी

सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूका लागि फेरी नयाँ स्वरूपको लोगो ९ब्याच० बनाउने तयारी गरिएको छ । केही महिना अघि मात्रै साढे पाँच लाख खर्च गरेर नयाँ प्रदेश सभा सदस्यहरूको लागि सुन र चाँदी जडित लोगो हस्तान्तरण गरिएको थियो । तर, त्यो लोगोको स्वरूप ठिक नभएको र केही थप गर्नु पर्ने भन्दै पुन लोगो तयार गर्ने तयारी भइरहेको हो ।
सुदूरपश्चिम प्रदेश सभाको लोगो संशोधन समिति नै गठन गरेर नयाँ स्वरूपको लोगो तयार गर्ने तयारी भइरहेको छ। समितिको संयोजकमा नेपाली कांग्रेसका पदम शाही रहेका छन् भने सबै दल र स्वतन्त्र सांसद समितिको सदस्य छन् ।

एमालेका धर्मराज पाठक, माओवादी केन्द्रका अक्कल बहादुर रावल , नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी, नेकपा एकीकृत समाजवादीका प्रकाश बहादुर रावल सदस्य छन् । त्यस्तै राप्रपाकी खेमा विष्ट र स्वतन्त्र सांसद तारा जोशी पनि समितिको सदस्यमा छन् ।

उक्त समितिको पहिलो बैठक आज बसेको छ । सभामुख भीम भण्डारीको कार्यकक्षमा बसेको बैठकले सात दिन भित्र वर्तमान प्रदेश सांसद र पूर्व सांसदसँगको छलफल गर्ने समय निर्धारण गरेको छ । त्यस लगत्तै अन्य सरोकारवालासँग पनि छलफल गरेर नयाँ स्वरूपको लागो तयार गर्ने तयारी भइरहेको समिति संयोजक पदम शाहीले जानकारी दिए ।

‘अहिलेको लोगोमा केही अस्पष्टता छ । नेपाली झन्डामा सूर्य र चन्द्रमा पनि छैन’ उनले भने ‘नेपालको नक्सामा सुदूरपश्चिम प्रदेशलाई फोकस गर्ने गरि नयाँ लोगो तयार गर्ने कुरा भएको छ ।’

चौथो पटक बन्दै छ लागो
दोस्रो कार्यकालको पहिलो बर्ष पनि पुरा नहुँदै प्रदेश सभा सदस्यको लागि चौथो पटक लोगो बनाउने तयारी भइरहेको छ । यस अघि सुरुमा धातुको लागो निर्माण गरिएको भएपनि त्यस यता सुन र चाँदी जडित लोगो तयार गरिएको हो ।

पहिलो चरणमा प्रतिव्यक्ति २ हजार २ सय पर्ने गरि ७० पिस लोगो तयार गरिएको थियो । ५३ जना प्रदेश सभा सदस्यहरूको लागि ७० पिस लोगो तयार गर्दा डेढ लाख भन्दा बढि खर्च गरिएको थियो । त्यो बेला धातुको जडित लोगो भएको हुँदा कम खर्च भएपनि त्यस यता सुन र चाँदी जडित लोगो लगाउन थालेपछि लोगो निर्माणको खर्च बढेको हो ।

२०७७ जेठ ७ गते सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरेपछि सुदूरपश्चिम प्रदेशमा पनि लोगो फेरिएको हो । त्यस लगत्तै असार १७ गते ललितपुरको घरेलु तथा साना उद्योग कार्यालयलाई इष्टमेट मागेर सुन र चाँदी जोडिएको नयाँ लोगो तयार गर्न भनिएको थियो । त्यस बेला २ लाख ८५ हजारको सुन मात्रै प्रयोग गरिएको थियो । ६९ हजार ८२५ रुपैयाँको चाँदी प्रयोग गरिएको उक्ता लोगो तयार गर्न प्रदेश सभाले ५ लाख ५५ हजार १ सय रुपैयाँ खर्च गरेको थियो । ६० पिस बनाइएको उक्त सुन चाँदी जडित लोगो प्रदेश सभा सदस्यहरूको कार्यकाल सकिएपछि पनि फिर्ता गरेनन् ।

त्यस बेला एउटा लोगोको मूल्य करिब ७ हजार ९३० रुपैयाँ परेको थियो । प्रदेश सभा सदस्यहरूले चुच्चे नक्सा सहितको सुन चाँदी जडित लागो फिर्ता नगरेपछि प्रदेश सभाले तेस्रो पटक सुन चाँदी जडित लोगो बनाएको हो ।
यस पटक प्रदेश सभा सदस्यहरूले लगाइरहेको लोगोमा १ लाल सुन र १ तोला चाँदी छ । ५ लाख ४९ हजार ३३३ रुपैयाँ खर्चेर बनाइएको लोगो फेरी परिवर्तन गर्ने प्रदेश सभा सचिवालयको तयारी रहेको छ । अहिले प्रयोग भइरहेको लोगोमा मात्रै २ लाख ७१ हजार २०९ रुपैयाँको सुन र ८५ हजार २ रुपैयाँको चाँदी प्रयोग गरिरहेको छ ।

अहिले सम्म प्रदेश सभा सदस्यहरूले लोगो फिर्ता नगरे पनि अब नयाँ लोगो उपलब्ध गराइएपछि पुरानो सुन चाँदी जडित लोगो प्रदेश सभा सचिवालयमा बुझाउनु पर्ने सभामुख भीम भण्डारीले बताए ।
‘केही महत्त्वपूर्ण विषयहरू छुटेको हुँदा नयाँ लोगो बनाउन लागिएको हो ’ उनले भने ‘नयाँ बनाएपछि पुरानो लागो भने प्रदेश सभामा बुझाउनु पर्छ । ’


३१ जेठ २०८०, बुधवार १७:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु