धनगढीको तापक्रम ४६.४ डिग्री होइन-मौसम विभाग
मनसुनी वायु नेपाल प्रवेश गर्न अझै करिब डेढ साता लाग्ने अनुमान मौसम्विद्हरुले गरिरहेका बेला तराईका अधिकांश स्थानमा तापक्रम ह्वात्तै उकालिएको छ। यद्यपि धनगढीमा रेकर्ड तापक्रम भनी सञ्चारमाध्यममा फैल्याइएको ४६.४ डिग्री भने नभएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी नापिएको छ। केही स्थानमा त ४२ डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन भएको महाशाखाले जनाएको छ।
काठमाडौँलगायत पहाडी क्षेत्रमा पनि तापक्रम बढिरहेको छ। पहाडी क्षेत्रमा पनि ‘लु’ चल्नसक्ने मौसम्विद्हरुले बताएका छन्।
धनगढीमा भने शुक्रबारको अधिकतम तापक्रम ४०.५ डिग्री रहेको महाशाखाले जानकारी दिएको छ।
यद्यपि २८ वर्षअघि भने धनगढीमा अहिलेसम्मकै बढी तापक्रम ४६.४ डिग्री रेकर्ड गरिएको पनि महाशाखाले जानकारी दिएको छ।
महाशाखाले ‘लु’बाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।
२७ जेठ २०८०, शनिवार ०९:२० बजे प्रकाशित













