प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले प्रधानमन्त्रीसँग जवाफ माग्ने
प्रतिनिधि सभाको बैठक आइतबार ( आज ) बिहान ११ बजे बस्दैछ। संघिय संसद भवनमा बस्ने बैठकमा सरकारले अगाामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि छलफल सुरू गर्ने कार्यसूची रहेको छ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
यता प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज संसदमा प्रधानमन्त्रीको जवाफ माग्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा बंगलादेशको बन्दरगाहसम्म पुग्ने बाटो प्रयोग गर्न दिने शर्तमा नेपाली भूभाग लिपुलेक–लिम्पियाधुरा र कालपानीसहितको भूभाग दिन सकिने भनेर दिएको अभिव्यक्तिको जवाफ माग्ने भएको हो।
‘ त्यस्तै एमालेले नागरिकता विधेयक प्रमाणीकरणका साथै टीकापुर घटनामा दोषी ठहर भई तीनै तहका अदालतबाट जन्मकैदको फैसला सुनाएका रेशम चौधरीको अन्तिम अदालतबाट आएको फैसलाको पूर्णपाठ नै नआउँदै दिएको आममाफीबारे पनि जवाफ माग्ने भएको छ।
आजै राष्ट्रिय सभाको बैठक पनि बस्दै छ। राष्ट्रिय सभा बैठक दिउँसो ३ बजेर १ मिनेटमा बस्ने तय गरिएको संसद् सचिवालयले जानकारी दिएको छ।
२१ जेठ २०८०, आइतवार ०८:२३ बजे प्रकाशित































