कञ्चनपुर – २ बाट निर्वाचित कांग्रेस नेता साउद परराष्ट्रमन्त्री बन्दै,आइतबार शपथग्रहणको तयारी
कांग्रेस नेता एनपी (नारायणप्रसाद) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । कञ्चनपुर क्षेत्र नं-२ बाट निर्वाचित साउदलाई परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार सहमति भएको हो । साउदलाई आइतबार प्रधानमन्त्री दाहालले मन्त्रीमा नियुक्त गर्ने र दिउँसो ३ बजे शपथग्रहण गराउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।
कांग्रेस केन्द्रीय सदस्य रहेका साउद यसअघि सिँचाईमन्त्री बनेका थिए । कांग्रेसभित्रको विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सभापति देउवाले पाँचौं मन्त्री पनि आफ्नै समूहबाट पठाउन लागेका हुन् । यसअघि उपप्रधानसहित ४ मन्त्री कांग्रेसले दाहाल नेतृत्वको सरकारमा पठाइसकेको छ ।
रकार विस्तार लगायतका विषयमा छलफलका लागि शनिबार बिहान प्रधानमन्त्री दाहाल, सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । भेटमा प्रधानमन्त्री दाहालले मन्त्रीहरुको नाम छिटो दिन देउवालाई आग्रह गरेका थिए । तर, अध्यक्ष नेपालले पनि थप १ मन्त्रालय आफ्नो पार्टीलाई चाहिने अडान राखेका थिए ।
अब ५ मन्त्रालय दाबी गरिरहेको कांग्रेसले ४ वा ५ पाउने भन्ने अन्योल बढेको छ । कांग्रेसले ८ मन्त्रालय पाउने यसअघि नै सहमति भएको थियो । तर उसले आन्तरिक भागबन्डा मिलाउन अझै ५ मन्त्रालयमा दाबी राखिरहेको छ । एकीकृत समाजवादीले पनि थप १ मन्त्रालय मागिरहँदा मन्त्रिपरिषद् विस्तारमा विलम्ब भएको छ । एकीकृत समाजवादीबाट दुई जना मन्त्री बनिसकेका छन् ।
२ वैशाख २०८०, शनिवार १८:३१ बजे प्रकाशित













