बैतडीमा यु–१६ क्रिकेट छनौट प्रतियोगिता भोलिदेखि सुरु हुँदै

बैतडी जिल्लाको १६ वर्षमुनिको क्रिकेट छनौट प्रतियोगिता शुक्रबारदेखि शुरु हुने भएको छ।

यहाँका पालिकाबाट आएका खेलाडीबाट टोली बनाएर प्रतिस्पर्धा गराइने बैतडी जिल्ला क्रिकेट संघको सचिव सिद्धराज बोगटीले जानकारी दिए। खेलाडीलाई छनौट प्रतियोगितामा सहभागी गराइदिन सबै पालिकालाई जिल्ला क्रिकेट संघले पत्राचार गरिसकेको छ।

सहभागी हुन आउने खेलाडीलाई अनिवार्य रूपमा उमेर खुल्ने कागजपत्र ल्याउन आग्रह गरेको छ।

छनौट प्रतियोगिता देहिमाडौंस्थित निंग्लाशैनी खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा जिल्ला टोली घोषणा गर्ने क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए। छनौट भएको जिल्लाको टोलीले प्रदेशस्तरीय छनौट प्रतियोगिता खेल्नेछ।

नेपाल क्रिकेट संघले मलेशियामा हुने १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मद्देनजर गर्दै जिल्ला छनौट चैत १५ भित्र गरिसक्न निर्देशन दिएको थियो।

एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता मे १७ देखि २८ सम्म मलेशियामा हुनेछ। सोही प्रतियोगितामा नेपाल पनि सहभागी हुने नेपाल क्रिकेट संघले जनाएको छ।


९ चैत २०७९, बिहीवार १८:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु