केही दिन हावाहुरी र चट्याङको जोखिम
हावाहुरीसँगै चट्याङको क्रम बढ्ने भएकाले अबका केही दिन सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
सहज रूपमा नेपालमा मनसुन भित्र्याउन मनसुनपूर्वको अवस्थामा वायुमण्डलका बादल, जलवाष्पका कण र सुक्खा वायुबीच सङ्घर्ष चल्ने गर्छ। जसका कारण बादल गर्जने, हावाहुरी चल्ने र चट्याङ पर्ने मौसमविद् गोविन्दकुमार झाले बताए। उनका अनुसार अहिले मनसुनजन्य वातावरण निर्माणका लागि आकाशमण्डलमा त्यस्तै मौसमजन्य तत्वहरू सक्रिय छन्।
मनसुनपूर्वको अत्यधिक दृश्य सूचकका रूपमा मेघ गर्जने, हावा चल्ने र चट्याङ पर्दा त्यसप्रति सजग भइएन भने मानिसको ज्यान जाने सम्भावना हुन्छ। बर्खे खेतबालीको तयारीको समय भएकाले प्रायः किसान परिवार खेतबारीमा रहने भएकाले सचेत हुनु आवश्यक छ।
यति बेला पश्चिमी वायुसँगै स्थानीय र भारतको राजस्थानमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा एकैचोटि परिरहेको छ। लामो समय वर्षा नहुँदाको अवस्थामा देखिएको वर्षा गराउने प्रणाली सुखद भए पनि हावाहुरी र चट्याङको क्रम दोहोरिँदा जनधनको क्षति बढाउने सम्भावना रहने विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। गत वैशाखयता चट्याङ लागेर ८० जनाले ज्यान गुमाएका छन् भने २०२ जना घाइते भएका छन्। त्यस्तै हावाहुरीबाट नौ जनाको ज्यान गएको छ।
५ चैत २०७९, आइतवार ०६:५९ बजे प्रकाशित































