punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

झारफुकका नाममा हत्या,आफन्त र मलामी प्रहरी नियन्त्रणमा

Chaupati
safha napa

रुपन्देहीको सैनामैना नगरपालिका–१० की १४ वर्षीया सीता ज्ञवालीलाई कान दुख्ने र ज्वरो समस्या भयो। स्थानीय सालझण्डी माध्यमिक विद्यालयमा कक्षा ९ पढ्ने उनलाई फागुन ११ गते दिनभर ज्वरोले नछाडेपछि आमा लीला ज्ञवालीले सालझण्डीको बाबुराम मेडिकलमा लगिन्।

सीताको कानमा जंगली किर्ना रहेको भन्दै डाक्टरले निकालेर फालिदिए। त्यसको २ दिनसम्म पनि उनलाई निको भएन। फेरि मेडिकल लगेर पिसाब, रगत पनि परीक्षण भयो। डाक्टरले औषधि दिएर पठाए। उनी झन् कमजोर बनेपछि फागुन २० गते स्लाइन पनि चढाइयो। मेडिकल सञ्चालकले अब पनि निको नभए उपचारका लागि बुटवल लैजानु भनेका थिए।

एक सातासम्म पनि सीतालाई निको भएन। आमाले अस्पताल लैजान रिक्सामा राखेर हिँडिन्। अर्को टोलमा झारफुक गर्ने माता छिन् भन्ने सुनेकी उनले अस्पताल नगई त्यता लगिन्। ज्ञवाली र माता संज्ञा ९सोनिया० रेश्मीको घर एक किलोमिटरको दूरीमा छ। केही समयअघि मात्रै आफूलाई माता उत्रिएको भन्दै झारफुक गर्न थालेकी रेश्मी सैनामैना–१०, बेमटेनीकी हुन्। २२ वर्षीया अविवाहित रेश्मी सालझण्डीकै पशुपति क्याम्पसमा स्नातक तह पढ्छिन्।

‘बाबु ९ताराप्रसाद०ले माताकोमा लैजानु पर्दैन अस्पताल लैजानु भनेका रहेछन्’, स्थानीय भन्छन्, ‘आमाले एकपटक देखाएर केही हुँदैन भन्दै लगिछन्।’ स्थानीय चेतबहादुर सारुका अनुसार माता रेश्मीले झारफुक गर्न लागेको धेरैलाई थाहा थिएन। आमा लीलाले सीतालाई झारफुकमा लगेपछि माता रेश्मीले ‘बोक्सी छोडाउने’ भन्दै कुटपिट गर्न थालिन्। मुखमा खरानी र पानी राख्दै लुछ्ने र पिट्ने भएपछि ज्वरोले शिथिल बनेकी सीता मुढो जस्तै भइन्। सीतामाथि चढ्ने, लात्तीले हान्ने, मुखमा खरानी र पानी खन्याइदिने क्रम निकैबेर चल्यो। ‘सामाजिक सञ्जालमा रहेको भिडियोमा माता भनिने रेश्मीले क्रुर तरिकाले कुटपिट गरेको देखिन्छ’, स्थानीय सारुले भने। सीतालाई कुटपिट गरिरहँदा आमाले पटक–पटक रोक्न खोजिन्। तर, बोक्सीलाई दुख्ने, छोरीलाई नदुख्ने भन्दै माताले कुट्न रोकिनन्। निरन्तरको कुटपिटपछि सीता बेहोस भइन्। होस फर्किएन।

माता भनिने रेश्मीले आफूले बोक्सी नचाउने भन्दै भिडियो खिच्न भनेकी थिइन्। त्यही भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मात्रै घटना बाहिर आएको हो। २० गते राति भएको घटनापछि सीताको मृत्यु भयो। माताको कुटपिटले मृत्यु हुँदासमेत आफन्त, छिमेकीले प्रहरीमा खबर गरेनन्। बरु रातारात नै कपिलवस्तुको लक्ष्मण घाटमा पुगेर अन्त्यष्टि गरे। माताका घरपरिवारले घटनालाई गुपचुप राख्न खोजेका थिए।

दुई दिनपछि मृतकका मामाले भिडियो सामाजिक सञ्जालमा पोस्ट गरे। भिडियो देखिएपछि मात्रै प्रहरीले घटनाको अनुसन्धान थाल्यो। प्रहरीले फागुन २२ मै माता भनिने रेश्मीलाई नियन्त्रणमा लियो। त्यसपछि झारफुकमा सहभागी र अन्तिम संस्कारमा पुगेका आफन्त, मलामीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले घटनाको छानबिन अघि बढेको बताए। प्रहरीले अहिलेसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ। १० जनालाई पक्राउ गरी सामान्य सोधपुछ गरेर छाडेको छ। जिल्ला अदालतबाट १० दिनको म्याद लिएर घटनाको छानबिन भइरहेको प्रहरी प्रमुख थापाले बताए।


३० फागुन २०७९, मंगलवार ०७:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु