आज ७३औं प्रजातन्त्र दिवस, प्रदेश सरकारले धनगढीमा कार्यक्रम गर्दै
कैलाली । आज ७३औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा धनगढीमा प्रदेश सरकारले विशेष कार्यक्रम आयोजना गर्दै छ । कार्यक्रमको शुभारम्भ गर्न धनगढीको ट्राफिक चौराहा बाट सुदूरपश्चिम प्रदेश सरकारले प्रभात फेरि गर्दै छ ।
विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनीया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा अन्य सङ्घ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरूपमा दिवस मनाउन आह्वान गरेको छ । तीन दिनसम्म साँझ दीपावली पनि गरिनेछ । प्रजातन्त्र दिवसलाई २०४६, २०६३ र २०६५ का परिवर्तनको जगका रूपमा सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ ।
प्रजातन्त्र दिवसकै जगमा करिब ७० वर्षपछि संविधानसभाबाट संविधान जारी हुन सफल भएको छ ।
७ फागुन २०७९, आइतवार ०७:३३ बजे प्रकाशित














